वीरेन्द्रनगरको नगरप्रमुखका त्रिपक्षीय भिडन्त, को कति बलियो ?

सुर्खेत । स्थानीय तहको निर्वाचन आउन अब ५ दिन बाँकी छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर प्रदेशकै ठूलाे नगरपालिका हो ।

आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक रूपले पनि वीरेन्द्रनगर कर्णालीको ‘एपी सेन्टर’ मानिन्छ । ६७ हजार ५६ मतदाता रहेको वीरेन्द्रनगरको मेयरमा कसले बाजी माला भनेर चर्चा सुरु भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको बागडोर सम्हाल्न १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका देवकुमार सुवेदी प्रमुखमा निर्वाचित भएका हुन् ।

उप–प्रमुखमा नेकपा एमालेका मोहनमाया ढकाल विजयी भएकी थिइन् । २०७४ को निर्वाचन भन्दा यो पटकको निर्वाचन थप रोचक हुने राजनीतिक विश्लेषक बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवम् राजनीतिक विश्लेषक पीताम्बर ढकाल यो पटक मत परिणाम फरक हुन सक्ने बताउँछन् ।

वीरेन्द्रनगरबासीले मेयरमा नयाँ अनुहार खोजी रहेको ढकालको टिप्पणी छ । २०७४ को निर्वाचनबाट सुर्खेतमा पहिलो शक्ति बनेको नेपाली काँग्रेसका लागि यसपालिको निर्वाचन सहज नहुने ढकालको बुझाइ छ । ‘काँग्रेस–माओवादीको गठनले प्रभाव पार्न सक्ने भए पनि काँग्रेसको आन्तरिक किचलोका कारण काँग्रेसलाई ठूलाे धक्का पुग्न सक्छ,’ ढकाल भन्छन्, ‘पछिल्लो उदाहरण भनेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनलाई लिन सकिन्छ ।’

आन्तरिक विवादलाई नमिलाएर एक पक्षीय भएर चुनावमा जानु काँग्रेसका लागि ठूलाे धोका हुने ढकालको बुझाई छ । पार्टी भित्रको आन्तरिक विवाद हाबी नभई गठबन्धनबाट धोका नभए मेयर पद काँग्रेसका पोल्टामा नजाला भन्न नसकिने उनको भनाई ।

२०७४ मा ५७ हजार मतदाता रहेको वीरेन्द्रनगरमा यसपालि थपिएका १० हजार मतदाता निर्णायक हुने विश्लेषक ढकालको छ । गठबन्धन बनाएको काँग्रेस र एमालेको प्रतिस्पर्धाले कतै राष्ट्रिय प्रजातन्त्र पार्टीले परिणाम उल्ट्याउने त होइन भन्ने प्रश्न पनि उठ्न थालेको ढकालले उल्लेख गरे ।

नेकपा एमालेलाई भने एकीकृत समाजवादीले कम भोट काटेको खण्डमा र काँग्रेसको हृदयराम थानी पक्षको मत लिन सके मेयर पद हात पार्न सक्ने उनको बुझाइ छ । मेयर पदमा बाजी मार्न काँग्रेसले नेकपा एमाले र वैकल्पिक शक्ति मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग ठुलै भिडन्त गर्नुपर्ने अवस्था छ ।

गठबन्धन बनाएर चुनावमा गएको काँग्रेसले मेयरमा उपेन्द्रबहादुर खड्का र उपमेयरमा माओवादीकी शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । खड्का काँग्रेसबाट बलिया उम्मेदवार मानिन्छन् ।

यस्तै, वीरेन्द्रनगरमा अर्को ठूलाे प्रभाव राख्ने दलहरू मध्ये नेकपा एमाले पनि प्रमुख हुने रणनीतिका साथ चुनावी प्रचारप्रसारलाई व्यापकता बनाएको छ । आगामी निर्वाचनका लागि वीरेन्द्रनगरमा काँग्रेस–माओवादी गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको त्रिपक्षीय भिडन्त हुने निश्चित छ ।

यसअघि उपमेयरको बागडोर सम्हाली सकेकी मोहनमाया ढकाल प्रमुख पद हत्याउने दाउमा छिन् ।

तर, उनका लागि भने यो सहज हुनेछैन । पाँच वर्षको कार्यकाल सकेकी ढकाललाई मेयर पद लिनका लागि प्रमुख चुनौती गठबन्धन छ । यस्तै ढकालको अर्को चुनौती राष्ट्रिय प्रजातन्त्र पार्टी हो । राप्रपाले पनि मेयर पदमा १७ वर्षअघि मेयर पद सम्हाली सकेका प्रभावशाली अनुहार मुकुन्दश्याम गिरीलाई अगाडि सारेको छ ।

पछिल्लो समय जनलहर बढ्दै गएको राप्रपाले पनि मेयर पदका लागि प्रभाव जमाउन सक्ने आङ्कलन कतिपयको छ । राप्रपा आफ्नो विरासत जोगाउने दाउमा छ । यसका अलावा एमाले फुटका कारण मत विभाजन हुने डर एमालेमा छ । काँग्रेस भित्र मत विभाजन भए ढकालले मेयरमा बाजी मार्ने एमालेको बुझाई छ ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि एमालेको भोट काट्ने आङ्कलन गरिएको छ । पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएको समाजवादीले कति भोट काट्छ भन्न यसै भन्न सकिने अवस्थामा छैन । आफ्नो विरासत जोगाउन सक्छ की सक्दैन यकिन भन्न सकिने अवस्था भने छैन ।

समाजवादीले धना कुमारी जिसीलाई मेयर र उपमेयरमा वीरबहादुर रावतलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । एमालेले उपप्रमुखमा पाँच वर्षे कार्यकाल सकेका वीरेन्द्रनगर ४ का निर्वाचित वडाध्यक्ष नीलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनको मत परिणाम हेर्ने हो भने वीरेन्द्रनगरमा एमालेको मत संख्या बढी देखिन्छ ।

१४ हजार चार सय पाँच मत प्राप्त गरी मेयर पद जितेको काँग्रेसभन्दा एमालेको मत अन्तर करिब पन्ध्र सयले फरक हो । त्यति बेला उपमेयर जितेको एमालेले दुवै पदमा कुल २९ हजार नौ सय ६७ मत प्राप्त गरेको थियो, भने मेयर पद जितेको काँग्रेसले २८ हजार चार सय ३१ मत पाएको थियो ।

२०७४ को निर्वाचनमा मेयरको बागडोर सम्हालेका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच भोट ल्याउँदै नेकपा एमालेका बालाराम शर्मालाई हराएका थिए । शर्माले १३ हजार ८९९ मत ल्याएका थिए ।

यस्तै, हाल मेयर पदको उम्मेदवार बनेकी मोहनमाया ढकालले १६ हजार ६८ मत प्राप्त गरी नेपाली काँग्रेसकी जानकी सिंहलाई हराएकी थिइन् । सिंहले १४ हजार २६ मत प्राप्त गरेकी थिइन ।

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा दुई जना स्वतन्त्रसहित १३ जनाको र उप–मेयरमा पनि दुई जना स्वतन्त्रसहित १३ जना उम्मेदवार बनेका छन् । निर्वाचन आयोग नेपालका अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसबाट उपेन्द्रबहादुर खड्का, नेकपा (एमाले)बाट मोहनमाया भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरी, जनता समाजवादी पार्टी नेपालबाट गगनबहादुर सारू, नेपाल मजदुर किसान पार्टीबाट गोविन्दनाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, राष्ट्रिय नागरिक पार्टीबाट टीकाराम रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले, नेकपा (एकीकृत समाजवादी)बाट धन कुमारी जिसी, नेपाल दलित पार्टीबाट नीलकण्ठ भुसाल, राष्ट्रिय जनमोर्चा पार्टीबाट विष्णु प्रसाद शर्मा र स्वतन्त्रबाट उमानन्द पंगाली र भीमप्रसाद शर्मा उम्मेदवार बनेका छन् ।

यस्तै, वीरेन्द्रनगरको उप–प्रमुखमा राष्ट्रिय जनमोर्चाबाट कृष्णाकुमारी रावल, नेकपा समाजवादीबाट डिलमाया आले मगर, नेकपा एमालेबाट नीलकण्ठ खनाल, राष्ट्रिय नागरिक पार्टबाट पवित्रा कुमारी शर्मा, नेपाल दलित पार्टी भूमिसरा विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीकुमारी सार्की, नेपाल मजदुर किसान पार्टीबाट विजुकला राना, नेकपा माओवादी समाजवादीबाट विमला पुन मगर, नेकपा (एकीकृत समाजवादी)बाट वीरबहादुर रावत, नेकपा (माओवादी केन्द्र)बाट शान्ति ढकाल, जनता समाजवादी पार्टी नेपालबाट सन्तोषी विश्वकर्मा र स्वतन्त्रबाट भोजप्रसाद चपाई र अनिल ढकाल उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *