पोखरा महानगरको एउटा वडा जहाँ अझै पुगेन पक्की बाटो !

पोखरा । अघिल्लो पटक निर्वाचनमा उम्मेदवार बनेकाहरूको प्रमुख घोषणा थियो ‘बाह्रै महिना चल्ने र कालोपत्रे सडक’ । स्मार्ट सिटीदेखि सलल गाडी गुड्ने सडक पोखरेली जनताका लागि ‘आकाशको फल’ बनेको छ ।

२५ किलोमिटर अस्फाल्ट प्रविधिबाट सडक पिच गरेको पोखराले गाउँका वडाहरूई सहरसँग जोड्ने प्रयास गरेन । कनेक्टिङ सडकका नाममा २७ वटा योजना सुरु गरेपनि पर्याप्त बजेट नदिँदा योजना व्यवहारमा सफल कार्यान्वयन हुन सकेन । पोखरामा अहिले पनि यस्तो वडा छ, जहाँ कालोपत्रे सडकले पाइला पनि टेकेको छैन । वडा नम्बर २३ मा हालसम्म पक्की सडक नपुगेको हो ।

महानगरको केन्द्रबाट १० किलोमिटर भित्रै पर्ने उक्त वडामा बर्खा लागेपछि सजिलोसँग गाडी गुड्दैन । ५ वर्षपछि पुनः चुनावी चहलपहल तीव्र छ । उम्मेद्वारहरुको भाषण र घोषणापत्र उही छ, ‘सबै वडामा पक्की सडक’ ।

२३ नम्बर वडाका नागरिकहरू अब उम्मेदवारका घोषणापत्र पत्याउन नसक्ने अवस्थामा पुगेका छन् । स्थानीय लोकमाया पराजुली भन्छिन्, ‘अघिल्लो पटक पनि सडक पिच गर्छु भन्थे । भोट हाल्यौँ । अहिलेसम्म पक्की सडक आएन ।’ त्यहाँका नागरिकहरू महानगर भएकोमा खुशी भएपनि विकासको प्रभाव नपर्दा अहिले दुख पोख्दैछन् ।

२०७२ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकामा नजिकका गाविस गाभेर महानगर घोषणा गरिएको हो । पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, भलाम, चापाकोट, भदौरे तामागीका ३ र ९ नम्बर वडा, कास्कीकोट, माझठानाको १, ४ र ९ नम्बर वडा, कालिका, आर्वा, पुम्दीभुम्दी, निर्मलपोखरी, कृष्ती, सराङकोट, हेमजा, कालिकाको १ देखि ५ नम्बर वडा, पुरुन्चौर, लामाचौर लगायत गाविस पोखरामा गाभिएका हुन् । यी गाविसहरू दुई चरणमा गाभिएका थिए ।

महानगरलाई प्रमुख चुनौती सहरलाई थप स्तरीय बनाउनु र ग्रामीण वडाहरूमा विकास पुर्‍याउनु थियो । २३ नम्बरका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले प्रयास गर्दा गर्दै नसकेको बताए । ‘सडक पिच गरिदिन धेरै पटक महानगरलाई भन्यौँ । वडाको बजेटले गर्न सक्ने योजना भएन,’ उनले भने, ‘बल्लबल्ल ठेक्का लागेको ठेकेदारले काम सुरु गर्नै सकेन ।’

केही समयअघि मात्रै महानगरले पक्की बाटो बनाउनका लागि टेण्डर निकालेर ठेक्का लगाएको छ । पामेदेखि कात्रेको पुल हुँदै घाटिछिनासम्म ७ करोडमा कालोपत्रे गर्ने योजना सुरु गरिएको हो । तर काम अघि बढेको छैन । पोखरा महानगरभित्रका ६ सय ४१ किलोमिटर सडक अहिले पनि पनि कच्ची रहेको महानगरको तथ्याङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *