राप्ती तटका मतदाताको भनाइ, ‘डुबान–कटान समस्या सुल्झाउनेलाई भोट’

काठमाडौँ । बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या सुल्झाउन माग गरेका छन्।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले उम्मेदवारसँग डुबान र कटानको समस्या दिर्घकालीन रूपमा समाधान गर्न माग गरेका हुन्। बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरूले निर्वाचनमा मत माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गरेका छन्।

“बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई मात्रै हामीले भोट दिने विचार गरेका छौँ”, डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाले भने। उनले आफूहरू राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित भएकाले अहिलेसम्म सरोकारवाला निकायले समस्याको समाधानार्थ कुनै पहल नगरेको बताए।

लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिवसमेत रहेका शुक्लाले अहिले चुनावका बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि गाउँपालिका अध्यक्ष र सांसद फर्केर गाउँ नजाने गरेको गुनासो गरेका छन्। बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन्।

शुक्लाका अनुसार, बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ क्षेत्रका झण्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिक बाढीबाट प्रभावित हुने गरेका छन्। स्थानीय निर्वाचनमा सबैजसो दलले आफ्नो प्रतिबद्धतापत्रमा राप्ती तटीय क्षेत्रमा हुँदै आएको डुबान तथा कटान नियन्त्रण गर्ने उल्लेख गरेका छन्। कार्यान्वयनमा भने चुनौती देखिँदै आएको छ।

डुडुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार नरेन्द्रकुमार चौधरीले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाएका छन्। बितेको पाँच वर्षमा डुबान र कटान रोक्न धेरै प्रयास गरिएको बताउँदै डुडुवा गाउँपालिकामा समग्र विकासको लागि आफूले पुनःगाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए।

यस्तै, राप्ती नदी र डुडुवा खोलाले डुडुवा गाउँपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र बस्ती बर्सेनि डुबान हुर्ने समस्याको दिगो समाधान गर्नेगरी आफूले योजना बनाएको डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार शकील खानले बताए। उनले गाउँपालिकामा आउने बजेटबाट मात्रै तटबन्धन कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सकिने बताए। उनले भने, “यस क्षेत्रको डुबान र कटानबाट हुने क्षतिलाई तत्कालका लागि न्यूनीकरण गर्न सकिन्छ, ठूलो बजेटलाई प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गर्नेछौँ।”

राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दासमेत पीडित हुँदै आएका छन्। राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले बितेको पाँच वर्षमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले बाढीपीडितको समस्या समाधानका लागि काम गर्न नसकेकाले यो निर्वाचनमा जनताको काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताए।

“अन्य पूर्वाधार विकास गर्दै गरौँला तर बस्ती डुबान र कटानबाट जोगाउन अबको जनप्रतिनिधि गम्भीर बन्नैपर्छ”, थापाले भने। उनले डुबान र कटानको समस्या सुल्झाउन प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिन स्थानीय ‘एकमत’ भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *