दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ।

यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो। मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी गराएको छ। जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ। यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी कर्मचारी हुने छन् भने तीन स्वयंसेवक खटिनेछन्।

दाङका पाँच मतदान केन्द्रमा निर्वाचन गराउन महिलालाई मात्रै जिम्मेवारी दिइएको छ। पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिलालाई खटाइएको छ। घोराही–१६ को प्रावि सानी अम्बापुर ‘क’ मा मतदान अधिकृतका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारी, सहायक कर्मचारी ललिता यादव, रीता लामा र कार्यालय सहयोगीमा सरस्वती घर्तीमगरलाई तोकिएको छ। सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतमा महिला बालबालिका कार्यालयका मोतीकुमारी विश्वकर्मा, सहायक मतदान अधिकृतमा विमलाकुमारी पोखरेल, सहायक कर्मचारीमा मञ्जु देवकोटा, अनिता सुवेदी र सहयोगीमा विष्णुकुमारी चौधरी रहेका छन्।

सोही विद्यालयको ‘ग’ केन्द्रमा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनी, सहायक कर्मचारीमा कालिका अधिकारी, देवा केसी र सहयोगीमा भुमा वली रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लमही–५ को खीमबहादुर मावि कोलही मतदान केन्द्रमा सम्झना शर्मा मतदान अधिकृत, प्रभारश्मी धिताल सहायक मतदान अधिकृत, सुशीला शाह, पूजा केसी सहायक कर्मचारी र विष्णुकुमारी चौधरी सहयोगी रहेका छन्।

त्यस्तै, तुलसीपुर–५ को अरनीको मैदान ‘घ’ मा मतदान अधिकृतमा माया श्रेष्ठ, सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतम, सहायक कर्मचारीमा झरना बुढामगर, कमला रावत र सहयोगीमा रीता रिजाल रहेको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। महिला कर्मचारी मात्रै भएका मतदानस्थलमा महिला प्रहरी मात्रै खटाउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

कर्मचारी र सुरक्षाकर्मीहरू आवश्यक निर्वाचन सामग्री लिएर यही वैशाख २६ र २७ गते बेलुकासम्म मतदानस्थलमा पुग्नेछन्। भौगोलिक दूरीका हिसाबले टाढा रहेको स्थानमा २६ गते नै कर्मचारी पठाउने कार्यक्रम रहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए। जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ पुरुष र दुई तेस्रो लिङ्गी गरी चार लाख नौ हजार ९०२ मतदाता रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *