‘नेपालका भाषा र सरकारी कामकाज’ विषयको पुस्तक सार्वजनिक

काठमाडाैँ । देशभरका स्थानीय तहमा बोलिने भाषाका विषयमा प्रकाश पारिएको पुस्तक ‘नेपालका भाषा र सरकारी कामकाज’ सार्वजनिक गरिएको छ ।

तथ्याङ्कअनुसार विश्वमा सात हजार १०० भन्दा धेरै भाषा बोलिन्छ । नेपालमा मात्र १४० भाषा बोलिन्छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीमनारायण रेग्मीले त्यो जमर्को गरे ।

उनले नेपालको ७५३ स्थानीय तहमा बोलिने भाषासम्बन्धी तथ्याङ्क सङ्कलन गर्नुभएको छ । “हामी तथ्याङ्कलाई कि त आँखा चिम्लेर विश्वास गर्छौ कि त आँखा चिम्लेर अविश्वास गर्छौँ, तथ्याङ्क सरल हुन्छ, त्यो निक्कै नै रोचक हुन्छ”, उनले भने ।

लेखक रेग्मीले यो किताबमा नेपालका भाषासम्बन्धी तथ्याङ्कलाई निक्कै सरलीकरण गरेका छन् । यो पुस्तकको अनुसन्धानमा काम गर्दै आइरहेको संस्था फ्याक्ट्स नेपालले प्रकाशन गरेको छ भने यसको वितरण वि–लिडरले गर्दै छ । तीन सय ३० पेजको यो पुस्तकको मूल्य रु एक हजार १०० तोकिएको छ ।

भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्पजस्ता अनुसन्धानपछि तार्किक तथा तथ्यपरक सामग्री यो किताबमा समेटिएको लेखक रेग्मीले बताउनुभयो ।

यसमा ७५३ वटै तहमा बोलिने भाषासम्बन्धी विस्तृत तथ्याङ्क समेटिएको छ । यो पुस्तक किताब यात्रा, बुक–कर्नर, थुप्रै डट कमलगायत अनलाइनबाट पनि मगाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *