कांग्रेस गुर्भाकोटको घोषणापत्र : दीर्घरोगीलाई निःशुल्क उपचार, एकल पुरुषलाई रोजगारी

सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा गुर्भाकाटमा कांग्रेसका उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई समेत जोड दिएका छन् । उम्मेदवारहरू आफ्ना घोषणापत्रको साथ नागरिकहरूमाझ गएर मत मागेको नगरपालिकाका मेयर पदका उम्मेदवार हस्त पुनले जानकारी दिए ।

गुर्भाकोट कांग्रेसले आफ्नो घोषणापत्रमा गुणस्तरीय शिक्षा स्वास्थ्यदेखि सीमान्तकृत समुदायको जीवनस्तर माथि उठ्ने खालका विभिन्न कार्यक्रमहरू अघि सारेको छ ।

यस्तै, दीर्घरोगीलाई निःशुल्क उपचारदेखि एकल पुरुषलाई रोजगार तथा सीपमुलक कार्यक्रम, असक्त, सुत्केरी र दीर्घरोगीलाई प्रभावकारी सेवा प्रदान, सहज रूपमा जेष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउने, तरकारी तथा फलफूलको संकलन केन्द्र स्थापना गर्ने वडा एक कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

‘वैदेशिक रोजगारबाट फर्केका युवाहरूको लागि सुलभ ब्याजदरमा कृषि कर्जा प्रवाह गर्ने, नगर क्षेत्रमा उत्पादन भएका वस्तुहरूको प्रर्दशन तथा प्रर्वद्धनका लागि कृषि मेला तथा हाट बजारको व्यवस्था, खाद्य सुरक्षाको लागि उन्नत पोषण र दीगो कृषिमा जोड दिइने छ’, घोषणापत्रमा भनिएके छ । नगरपालिकालाई प्रदेशकै अर्गानिक हव बनाउने, जडिबुटी तथा तरकारी र फलफूलको पकेट क्षेत्र बनाई कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यस्तै, नगर क्षेत्रका द्वन्द्वपीडित र अनाथ बालवालिकाका लागि कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिनुका साथै हरेक वडामा एक, एक वटा अगुवा विद्यालयको कार्यक्रम अघि बढाउने कार्यक्रम रहेको छ ।

निम्न वर्गका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने, सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधाको पहुँच पु¥याउने, नगरमा सार्वजनिक पुस्तकालय निर्माण गरि सञ्चालन गर्ने, आगामी पाँच वर्षभित्र नगरका सामुदायिक विद्यालयलाई अध्ययनका लागि विद्यार्थीको मुख्य आर्कषणको केन्द्रका रूपमा विकास गरिने घोषणापत्रमा भनिएको छ ।

‘‘गुणस्तरीय एंव प्रभावकारी स्वास्थ्य सेवाको प्रवर्द्धन गरिने, नगरपालिकाको भुगोल र जनसंख्याको आधारमा नगर अस्पताल निर्माण गरिनुको साथै एम्बुलेन्सको व्यवस्थापन गर्ने, प्रवर्द्धनात्मक स्वास्थ्य सेवाका लागि विद्यँलय नर्स कार्यक्रम सञ्चालन गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘स्वयंसेवीकालाई खाजा र पोशाक मासिक रूपमा उपलब्ध गराउने, नगरभित्र सुविधासम्पन्न र दक्ष जनशक्तिबाट प्रसुती गराउनुका साथै बाहिर लैजानुपर्ने भएमा पनि प्रसुतीकेन्द्रसम्म लैजान एम्बुलेन्स उपलब्ध गराइने छ ।’

दीर्घ रोगी तथा मानसिक समस्याबाट ग्रसित व्यक्तिलाई उपचार र स्याहार खर्च उपलब्ध गराइने मेयर पदका उम्मेदवार पुनले बताए । उनले भने, ‘स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रूपमा लागु गर्नुका साथै विपन्न नागरिकको निःशुल्क विमा गरिदिने, पालिका स्तरमा आयुर्वेद, युनानी तथा होमियोप्याथि, एक्युपञ्चरजस्ता वैकल्पिक चिकित्सा केन्द्रहरूको स्थापना, विपन्न विरामीहरूको उपचारको लागि कोष स्थापना गरि निःशुल्क उपचारको व्यवस्था गरिने जस्ता उोजनाहरू हामीले अघि सारेका छौं ।’

यस्तै, पालिकाका सबै वडा केन्द्रलाई छुनेगरि सडक निर्माण, नगरभित्र गोचेखोला, कुर्मीखोलालगायतका स्थानहरूमा पक्की पुल निर्माण गर्ने, नगर क्षेत्रभित्र बस्ने घरविहीन व्यक्तिको पहिचान गरि घर निर्माण, सुविधासम्पन्न कर्वडहलको निर्माण, सुकुम्बासीलाई पुर्जा उपलब्ध, मुख्य बजार क्षेत्रमा सीसी क्यामरा जडान गरिने, नगर क्षेत्रमा शन्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालयको साथै प्रहरी चौकीको विस्तार गरिने योजना घोषणापत्रमा उल्लेख गरिएका छन् ।

यस्तै, नगरभित्रका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनको लागि आवश्यक सडक तथा पूर्वाधार जस्ता सुविधा सम्पन्न गराउने, नगरमा अत्याधुनिक खेलमैदानको व्यवस्था गरिनुका साथै नगरभित्र साना, ठूला तथा मझौला खालका सिँचाई आयोजनाहरू सञ्चालन गरिने बताइएको छ । साथै महिला हिंसा मुक्त नगरपालिका घोषणा गर्न ठोस् योजना बनाई कार्यान्वयन गर्ने, एकल महिला र पुरुष तथा सिमान्तकृत समुदायलाई आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने जस्ता योजना घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *