दाङमा ६ हजार बढी कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ।

वैशाख ३० गतेका लागि मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी ६ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो। तीन हजार ६८८ कर्मचारी र तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी गरी छ हजार ६८८ जनशक्ति निर्वाचनमा खटाइने जनाइएको छ।

निर्वाचन कार्यालयका अनुसार दाङमा ४६१ मतदान केन्द्र छन्। हरेक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी खटिनेछन्। एक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, दुई सहयोगी र तीन स्वयंसेवक परिचालन हुने प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी तीन हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार थप सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ।

यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राख्ने बताइएको छ। निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई गस्ती, सम्भावित अपराधका घटनाको विश्लेषण र नियन्त्रणका लागि टोल बस्तीमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

यस्तै, मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाइएको छ। निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन्। त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपत्र, मत पेटिकासहित निर्वाचनका अन्य आवश्यक सामग्री तयार पार्ने काम भइरहेको जनाइएको छ। निर्वाचनमा एक हजार १०० मतपेटिका आवश्यक पर्नेछ। त्यसका लागि ३०० नयाँ मतपेटिका मगाइएको छ। यसअघिको निर्वाचनमा प्रयोग भएका एक हजार ४०० मतपेटिका रहेका छन्। २७ गते साँझसम्म सम्बन्धित मतदानस्थलमा पुगेर सूचना जारी हुनेछ । २८ र २९ गते मतदाता परिचयपत्र वितरण गर्ने र सोही बेला मतदाता शिक्षाको गतिविधि सञ्चालन गरिनेछ।

त्यसैगरी, सोही दिन नै मतदानका लागि केन्द्र निर्माणका काम गरिनेछ । एक सय ५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ। दाङमा दुई लाख नौ हजार ९९ जना महिला, दुई लाख सात हजार ९९ जना पुरुष र दुई तेस्रोलिङ्गी गरी कूल चार लाख नौ हजार ९०२ जना मतदाता छन्।

निर्वाचनका लागि चार लाख ४३ हजार मतपत्र आइसकेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *