रामचन्द्र पौडेल र जगन्नाथ पौडेलबीच भेटवार्ता

चितवन । भरतपुर महानगरमा मेयरमा उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

रामचन्द्र पौडेल आफैले जगन्नाथलाई आफू बसेको भरतपुरको एक होटलमा बोलाई भेटवार्ता गरेका हुन्। भेटमा नेता पौडेलले उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। ‘अझै पनि मौका छ, उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन तयार हुनुस्’ नेता पौडेलले जगन्नाथ पौडेललाई भनेको स्रोतको भनाइ छ। तर, जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएको बताउँदै कांग्रेसकै एक नेताले भने, ‘रामचन्द्र पौडेल दाइले उम्मेदवारी फिर्ता लिन भन्नुभयो, उहाँले मान्नुभएन।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले जगन्नाथ पौडेलसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए  कसैले पनि उमेदवारी फिर्ता लिनेबारे सहमति जनाएनन्। जगन्नाथ पौडेल उम्मेदवारी फिर्ता नलिने भन्दै होटलबाट बाहिरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पौडेललाई भेट्ने कुरा भए पनि हालसम्म भेटघाट भएको छैन। प्रधानमन्त्री देउवा गठबन्धनको आज हुने चुनावी सभामा चितवनमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *