नेपालद्वारा जिम्बावे ८ विकेटले पराजित

काठमाडाैँ । नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा सहज जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भएको थियो । जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे । जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १/१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । अब नेपालले पाहुना टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *