भरतपुर महानगर : धुकचुकमा गठबन्धन, निश्शङ्क एमाले

काठमाडौँ । भरतपुर यसै पनि चर्चामै रहने महानगरपालिका हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगर भएकाेले पनि याे चर्चाकाे वृत्तभन्दा टाढा जाँदैन । भरतपुर अहिले पनि चर्चामै छ । नेपालको ६ वटा महानगरपालिकामध्येको एक प्रमुख महानगरपालिका भरतपुर अहिले भने स्थानीय चुनावी माहोलका कारण बढी चर्चामा छ ।

भरतपुरमा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहाल उम्मेदवार बनेकी छन् । उनलाई चुनौती दिँदै कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनलाई पार्टीकाे कारबाही गरिसकेकाे छ । उम्मेदवारी फिर्ता लिन नमानेपछि उनलाई पार्टीले स्वत: निष्कासन गरेकाे हाे । यद्यपि उनी अहिले तीव्र घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले आफूले मेयरकाे बाजी मार्नेसमेत दाेहाेर्‍याउँदै आएका छन् । उनले मकालुखबरसँग भनेका छन्, ‘अहिले पनि यहाँ कांग्रेस सेलाएर बस्याे भने संगठन नै बिलाउने अवस्था आएपछि मैले आँट गरेकाे हुँ । यसपटक यहाँ तातिनैपर्ने भएकाेले मैले उम्मेदवारी फिर्ता गरिनँ । अब जित्ने पनि हाे ।’

२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा माओवादी केन्द्रलाई सघाएकाे कांग्रेसले यसपटक भने माओवादी केन्द्रले आफूलाई सघाउनुपर्ने अडानमा थियाे । तर, केन्द्रीय निर्णयानुसार नै भरतपुर पुन: माओवादी केन्द्रकाे भागमा परेपछि कांग्रेस रुष्ट बनेकाे छ । रुष्ट कांग्रेसकाे नेतृत्व गर्दे पाैडेलले बागी उम्मेदवारी दिएका हुन् ।

गठबन्धनभित्रको यो अवस्थासँग प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने खुसी छ । पाँचदलीय गठबन्धनसँग डराइरहेको एमाले पौडेलकाे बागी उम्मेदवारीसँग खुसी मनाइरहेकाे हाे । यसले एमालेलाई राहत मिलेकाे नेताहरू बताउँछन् । कांग्रेसको संस्थापन पक्षको बुझाइ पनि यही छ । ‘उहाँ (जगन्नाथ) ले केही नसोचीकन उम्मेदवारी दिनुभयो र फिर्ता गर्न पनि मान्नुभएन । यो हाम्रो लागि प्रत्यूत्पादक हुने सम्भावना धेरै देख्छु । यसो हुँदाखेरि हाम्रो साझा उम्मेदवार रेनुजीको जित सुनिश्चित देखिँदैन,’ एक कांग्रेस नेताले भनेका छन् ।

पाैडेललकाे उम्मेदवारीले एमालेका मेयरका उम्मेदवार विजय सुवेदीलाई राहत मिलेको बताइन्छ । उसो त एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत साथ छ यसपटक । यस्तो अवस्थामा रेनुको सम्भावना कम र विजयको सम्भावना धेरै रहेको ‘रीडीङ्ग’ भरतपुरकाे राजनीतिक वृत्तमा छ । ‘अहिलेसम्मको राजनीतिक अवस्था हेर्दा एमाले नहार्ने ठाउँमा छ,’ एमालेकाे एक नेताले भने, ‘३० गतेसम्म पनि यो अवस्था परिवर्तन हुँदैन भन्ने छ ।’

यसपटक एमाले खासगरी भरतपुर र पोखरामा भने जसरी भएपनि बाजी मार्ने ध्याउन्नमा छ । प्रचण्ड र माधवकुमार नेपालसँगको तिक्ततापूर्ण सम्बन्धका कारण पनि एमाले याे चाहना तीव्र बनेको छ । पोखरामा पनि भरतपुरको भन्दा फरक दृश्य छैन । त्यहाँ कांग्रेसकै विमल कार्कीले बागी उम्मेदवारी दिएका छन् । उनले पनि त्यहाँ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता धनराज आचार्यको मत काट्ने निश्चित छ । यस्तो अवस्थामा एमालेका उम्मेदवार कृष्ण थापालाई लाभ मिल्ने बढी सम्भावना छ ।

तर, कतिपय एमाले नेताहरू भने पौडेलको उम्मेदवारी आफूहरूका लागि फाइदाकाे विषय नभएकाे बताउँछन् । पौडेल उम्मेदवार नबनेको भए कांग्रेस–माओवादीभित्रको असन्तष्ट मतदाताहरूको मत आफूलाई आउने अवस्था बन्ने उल्लेख गर्दै एमालेका एक नेताले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो मतदाताहरू साबिककै संख्यामा मात्रै हुन सक्छन् । यदि गजन्नाथजीले बागी उम्मेदवारी नदिनुभएकाे भएचाहिँ त्याे मत हामीलाई आउने सम्भावना हुन्थ्याे । तर, उहाँ खडा भइसकेपछि खासगरी असन्तुष्ट कांग्रेसहरूकाे मत उहाँलाई नै जाने देखिन्छ । त्याे भनेकाे एमालकाे पनि मत घट्नु हाे । ०७४ सालकाे निर्वाचन नै हेर्ने हाे भने पनि त्यहाँ झन्डै ७ देखि ८ हजारले रेनुजीलाई मत दिएका छैनन् ।’

०००

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादी-कांग्रेस गठबन्धनका तर्फबाट रेनुले जितेकी हुन् । त्यत्तिबेला उनको पक्षमा ४३ हजार १ सय २७ मत खसेको थियो । उनकाे याे मत एमालेका उम्मेदवार देवी ज्ञवालीकाे भन्दा २ सय ३ मतले बढी हाे । ज्ञवालीसँग त्यत्तिबेला ४२ हजार ९ सय २४ मत थियो ।

त्यहाँ राप्रपाको पनि राम्रै मतदाता छन् भनेर भनिन्छ । ०७४ सालको चुनावमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका बद्रीनाथ तिम्सिनाले ६ हजार ८ सय ४२ मत पाएका थिए । यसपटक राप्रपाले याे मत पनि एमालेसँग जाँदैछ । अर्थात् याे मत एमालेका उम्मेदवार विजयले पाउने निश्चित छ । कमल थापा नेतृत्वकाे राप्रपा र राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपाले एमालेलाई नै सघाउने सहमति बनिसकेकाे छ । वडा नं. २६ बाहेकका वडा र महानगरमा राप्रपा-एमालेबीच चुनावी तालमेल भएकाे छ ।

०७४ सालको चुनावमा त्यहाँ १४ जना उम्मेदवारहरू खडा भएका थिए । त्यसमध्ये कांग्रेस-माओवादी, एमाले र राप्रपाबाहेकका अन्य दलका उम्मेदवार तथा स्वतन्त्र रूपमा उठेकाहरूले ५ सय मत कटाएका थिएनन् । त्यस्ताे अवस्थामा यी मतहरूले अपवादबाहेक खास तात्त्विक असर नपार्ने शीर्ष दलका नेताहरू दाबी गर्छन् ।

यसरी ०७४ सालकै चुनावलाई आधार मान्ने हो भने यसपटक विजय बलियो सम्भावना बोकेका उम्मेदवार हुन् । गत निर्वाचनमा प्राप्त मतअनुसार उनको साथमा झन्डै ५० हजार मत देखिन्छ । उता रेनुको साथमा पहिलेकै मत नटिक्ने अवस्था भएकाे पाैडेलनिकट नेताहरूकाे दाबी छ । रेनुले ०७४ सालकाे चुनावमा कांग्रेसले साथ दिँदा ४३ हजार १ सय २७ मत पाएकी थिइन् । यसपटक त्यहाँ कांग्रेससमेत दुई ध्रुवमा छ । यस्तो अवस्थामा रेनुलाई कठिन भएकाे नेताहरूकाे भनाइ छ । यदि रेनुकाे पक्षमा पहिल्यैकै जत्ति नै मत आए पनि त्याे मत एमाले-राप्रपा गठबन्धनकाे भन्दा ६ हजार ६ सय ३९ मतले कम हाे ।

यसमा पनि माओवादीसँग २१ हजारभन्दा धेरै मत नभएकाे गठबन्धनका नेताहरू नै स्वीकार्छन् । अझ एमाले नेताहरू माओवादीकाे पहिलेकाे मत पनि घट्ने बताउँछन् । रामबहादुर थापा ‘बादल’ एमालेमै रहेकाे आधार देखाउँदै एमाले नेताहरूले माओवादीकाे त्याे मत दुई प्याक हुने बताउँछन् । उनीहरूकाे विश्वास छ, दुई फ्याक भएकाे त्याे मत विजयले पाउनेछन् । ‘माओवादीबाट काटिएको मत एमालेलाई आउँछ । बादलजीलगायतका नेताहरू एमालेमै हुनुहुन्छ,’ एमालेका एक नेताले भनेका छन् ।

जित्नैलाई चुनाव लड्ने हाे, जित्छु : विजय सुवेदी

सुवेदी जसरी भएपनि आफू जित्ने बताउँछन् । ‘त्यसमा म कन्फिडेन्ट पनि छु,’ उनले मकालुखबरसँग भनेका छन्, ‘विकासका लागि, समृद्धिका लागि र सुशासनका लागि लड्ने हाे । यसैका लागि जित्ने पनि हाे ।’

भरतपुरकाे अहिलेकाे अवस्था पनि एमालेकाे लागि हुँदाे नै रहेकाे उनकाे बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *