स्वयम्भूमा मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

काठमाडौँ । काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए। अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन्। उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपित दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भई काठमाडौँको वनस्थली बस्दै आएका राजेश सुनार र सिन्धुलीको दुधौली घर भई काठमाडौँको नागर्जुन बस्ने प्रकाश तिमिल्सिना रहेका छन्। तिमिल्सिनालाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो।उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ।

उक्त घटना शंकास्पद देखिएपछि प्रहरी वृत्त स्वयम्भूसहित, जिल्ला प्रहरी परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका साथै महाराजगञ्जस्थित शिक्षण अस्पतालको फरेन्सिक विभागका चिकित्सकको टोलीले घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेतको परिचालन गरिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *