एमालेलाई काउन्टर दिन भरतपुरमा गठबन्धनको चुनावी सभा

चितवन । चितवनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आउने निश्चित भएपछि काउन्टरकै लागि पाँच दलीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा सभा आयोजना गरेका छन् ।

नेकपा एमाले चितवनले दुई दिनअघि मात्र केपी ओलीको विशेष उपस्थितिमा वैशाख २६ मा भरतपुरमा विशाल चुनावी सभा आयोजना गर्ने जनाएको थियो ।

केपी ओलीको उपस्थितिमा एमालेले सभा गर्ने भएपछि पाँच दलीय गठबन्धनले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सभा गर्ने भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त सभा गर्नलाई तयारी थालेको छ । एमालेले वैशाख २६ गते अध्यक्ष ओलीको संवोधन हुने गरी भरतपुरमै चुनावी सभा गर्ने भएको छ ।

पाँच दलीय गठबन्धनको २२ वैशाखमा हुने संयुक्त सभामा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

भरतपुरको केन्द्रीय बसपार्कमा हुने सभामा संवोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउने छन् ।

यसबाहेक तीन पूर्व प्रधानमन्त्रीसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरूले पनि सभामा सम्बोधन गर्ने संयोजक अधिकारीले बताए ।

भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेनु दाहाल उठेकी छन् । दाहाललाई जिताउन पनि सत्तारुढ गठबन्धनले चुनावी सभा भरतपुरमा राखेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =