नरैनापुरमा फेरिएको चुनावी प्रतिबद्धता

काठमाडौँ । बाँकेको नरैनापुरमा पाँच वर्षअघि स्थानीय तह निर्वाचनमा राजनीतिक दलको पहिलो प्रतिबद्धता सडक र बिजुलीबत्ती थियो। तर, परिस्थिति बदलिएसँगै अहिले दलको प्रतिबद्धता पनि फेरिएको छ।

विगत दुई दशकदेखि सडक र विद्युत् नरैनापुरको चुनावी नारा र प्रतिबद्धता बन्दै आएकोमा अहिले फेरिएको हो। सडक र बत्ती पुगेपछि अब नरैनापुरमा फुसको छाना हटाउने प्रतिबद्धताले प्राथमिकता पाएको छ। यतिबेला नरैनापुरमा राजनीतिक दलले फुसको छाना हटाउने प्रतिबद्धता लिएर भोट मागिरहेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए।

“बाटो बनिसकेको छ, बिजुली पनि आइसकेको छ, त्यसैले अब फुसको छाना हटाउने विषय चुनावी नारा बनेको छ”, उनले भने। प्रत्येक वर्ष गर्मीयामसँगै नरैनापुरमा आगलागीका घटना हुने गरेका छन्। एक अर्कोमा जोडिएर बनाइएका फुसको छानाका घरमा एउटामा सल्किनासाथ बस्ती नै सखाप हुने गरेको छ।

एक महीनाअघि गत चैत २१ मा नरैनापुर गाउँपालिका–४ कृष्णनगरमा आगलागी हुँदा १६ घर र एक गोठ जलेर नष्ट भएको थियो। फुसका घर हुने भएकाले हरेक वर्ष गर्मी सिजनमा आगलागीको समस्या हुने गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा गङ्गापुरका सभापति शालिकराम साहु तेलीले बताए।

फुसको छाना हटाउनसके आगलागीको समस्या समाधान हुने उनको भनाइ छ। नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताएका हुन्। बर्सेनि आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था रहेकाले आफूहरू निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ।

गाउँपालिकाको प्रमुख समस्याका रूपमा रहेको आगलागी समस्या समाधानका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिने नेकपा एमालेबाट अध्यक्ष पदकी उम्मेदवार पद्मावती यादवले बताए। उनले नरैनापुरमा मुख्य सडक र विद्युतको लाइन पुगेपनि त्यसलाई व्यवस्थित गर्दै गाउँबस्तीमा पुर्याउने, शिक्षा, स्वास्थ्य र खानेपानीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नरैनापुर गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’ पनि भन्ने गरिन्छ। पालिकाको केही भाग राप्ती नदीको डुबानमा पर्ने गर्दछ। वर्षौंदेखिको सडक र विद्युतको योजना डेढवर्ष अघि कोभिड महामारीकै बीचमा पूरा भएको थियो। अब नरैनापुर गाउँपालिकाको प्रमुख समस्या आगलागी रहेको छ। फुसका घर धेरै रहेकाले बर्सेनि ठूलाठूला आगलागी हुने गर्दछन्।

जनता समाजवादी पार्टी (जसपा)बाट मोहम्मद इस्तियाक अहमद शाह र कांग्रेसबाट रामचन्द्र मौर्यले अध्यक्षमा उम्मेदवारी दिएका छन्। २०७४ सालमा नरैनापुरमा जसपाका शाहले चुनाव जितेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *