मेयरका साझा उम्मेदवार वडको संकल्प : धनगढीलाई महानगरपालिका बनाउने

धनगढी  । कैलालीको धनगढी उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार नृपबहादुर वडले धनगढीलाई महानगरपालिका बनाउने सङ्कल्प गरेका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार वडले सोमबार गठबन्धनको संयुक्त प्रतिवद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै धनगढीलाई महानगरपालिका बनाउने संकल्प लिएको बताए । उनले आफ्नो पाँच वर्षको कार्यकालमा भए/गरेका भौतिक संरचना निर्माणले धनगढीलाई महानगरपालिका बन्ने आधार बनिसकेको दाबी गरे ।

‘हामी निर्वाचित भएर आएपछिका पाँच वर्षमा धनगढीमा निर्माण गरिएका भौतिक संरचनाको जगमा समृद्ध, सुन्दर र व्यवस्थित सहर निर्माण हुँदैछ,’ उनले भने, ‘चुनौतीबीच पनि धनगढीले मुलुककै उत्कृष्ट पालिकाका रूपमा काम गरेको छ ।’

उनले कर्मचारीको अभाव, स्रोत साधनको कमी, आवश्यक ऐन/कानुन तर्जुमा र दुई वर्षसम्म कोरोना महामारीले सिर्जना गरेका मानवीय तथा स्वास्थ्य चुनौतीको सामना गर्नुपर्ने बताए ।

कार्यक्रममा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले प्रतिबद्धतापत्रमा उल्लेख गरिएका कार्य पूरा गर्ने प्रतिबद्धता बताइन् । विजयी भएर आए आफूले गरेका प्रतिबद्धताहरु पाँच वर्षमा पूरा गर्न सकिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

गठबन्धनका तर्फबाट जारी संयुक्त प्रतिबद्धतापत्र २२ बुँदामा समेटिएको छ । भ्रष्टाचार नगर्ने र कसैलाई पनि भ्रष्टाचार गर्न नदिने तथा नगरबासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रणसहितको प्रतिबद्धतापत्रमा सहरीकरण, नदी तथा खोलानाला व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइ तथा ढल व्यवस्थापन, पर्यटन, सडक सञ्जाल, औद्योगीकरण, सुशासन, युवा तथा खेलकुद, सामुदायिक सशक्तीकरण, भाषा र संस्कृति, महिला अल्पसङ्ख्यकलगायत विषय समेटिएका छन् ।

नेपाली काङ्ग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायको अध्यक्षतामा भएको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन राना, जिल्ला सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रमेश धामीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *