धनगढी पुगेर आर्जुले भनिन्, ‘यहाँ अर्को मेयरको परिकल्पना गर्न सकिँदैन’

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा. आर्जु राणा देउवा धनगढीको मेयरका उम्मेदवार नृपबहादुर वडका लागि मत माग्न धनगढी पुगेकी छन्।

आइतबार धनगढी पुगेकी नेतृ देउवाले सोमबार पत्रकारसँग भेटघाट गर्दै धनगढीको मेयरमा नृप वडको अर्को विकल्प नभएको बताएकी हुन्। उनले धनगढीका निवर्तमान मेयर वड देशकै उत्कृष्ट मेयर भएकाले पनि धनगढीमा वडको अर्को विकल्प नभएको स्पष्ट पारेकी छन्। उनले भनिन्, ‘नृपबहादुर वड देशकै उत्कृष्ठ मेयर घोषित भएका व्यक्ति हुन्,’ उनले भनिन्, ‘धनगढीलाई उहाँकै आवश्यकता छ। उहाँजस्तै लिडरसीपको खाँचो छ।’

वडले धनगढीमा विकासका थुप्रै कामहरू गरेको भएपनि प्रचारप्रसार हुन नसकेकाले जनतामा यसको सन्देश पुग्न नसकेको उनले बताइन्। विविध आयोजनालगायतका कारण बजार क्षेत्रमा विकासका गतिविधि गर्न नसकेको देखिएपनि धनगढीका ग्रामिण वडाहरूमा राम्रै विकासे कामहरू भएको नेतृ देउवाको भनाइ छ।

केन्द्रमा नेपाली कांग्रेसको सरकार नहुँदा पनि वडले धनगढीमा धेरै काम गर्न सकेको भन्दै नेतृ देउवाले भनिन्, ‘वडको लिडरसीप र उच्च व्यवस्थापन क्षमताले नै धनगढीमा काम गर्न सक्नु भएको हो। कोरोनाकालमा पनि वडले १ लाख ७५ हजार मानिसलाई व्यवस्थापन गर्नुभएको छ।’ लिडरसीप क्षमता भएको व्यक्ति धनगढीका लागि आवश्यक भएको भन्दै उनले धनगढीमा अर्को मेयरको परिकल्पना पनि गर्न नसकिनेमा पुनः जोड दिइन्।

कुनैपनि स्वतन्त्र व्यक्तिले स्थानीय तहमा मात्रै बलियो भएर काम गर्न नसक्ने उनको दाबी छ। ‘केन्द्रमा कोही नभएको व्यक्तिले स्थानीय तहमा कसरी काम गर्न सक्ला,’ उनले भनिन्, ‘केन्द्र सरकारबाट बजेट ल्याउन पनि सक्नुपर्छ। दलविहीन व्यक्तिले त्यो काम गर्न सम्भव हुँदैन। बजेट ल्याउन पनि निकै प्रतिस्पर्धा हुन्छ।’

उनले मेयर वडसहित वडामा भएका गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताइन्। मेयर भएर आएपछि काम गर्न सजिलो होस् भन्न सबै गठबन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पहल गर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *