जगन्नाथ पौडेलको प्रश्न : रूखमा भोट हाल्न पाउनुपर्छ भन्दा मलाई किन कारबाही ?

चितवन । भरतपुर महानगरपालिकाका मेयरमा स्वतन्त्रबाट उमेदवारी दिएका जगन्नाथ पौडेलले आजबाट घरदैलो अभियान शुरू गरेका छन् ।
उनले घरदैलोमा पुगेर रूखमा भोट हाल्न पाउनुपर्छ भन्दा मलाई किन कारबाही भनेर प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसको असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर भरतपुर महानगरको मेयरमा उमेदवार बनेका पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएसँगै चुनावी अभियान शुरू गर्दै घरदैलोमा पुगेका छन् । उनले आजबाट भरतपुरका विभिन्न ठाउँमा घरदैलो गरिरहेका छन् ।
घरदैलो कार्यक्रम शुरू गर्नुअघि नेता पौडेलले भरतपुरस्थित क्यान्सर अस्पताल परिसरमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए । गठबन्धनबाट असन्तुष्ट कांग्रेसका कार्यकर्ताले पौडेललाई साथ दिएका छन् ।
उनको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता कृष्णप्रसाद सापकोटा, भीमबहादुर श्रेष्ठलगायतले साथ दिइरहेका छन् । उनको कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरूको लस्कर नै लागिरहेको छ ।
उनले घरदैलोमा पुगेर कांग्रेसमाथि र रूखमाथि अन्याय भएको बताइरहेका छन्, तर उनी आफ्नो उमेदवार रूखविरुद्ध नभएको भनेका छन् । उनले भने, ‘५० वर्षदेखि निष्ठापूर्वक कांग्रेसको सेवामा लागेँ, तर ममाथि नै कारबाही किन भयो ?’ उनले कांग्रेस पार्टीलाई जीवन्त राख्न आफूलाई साथ दिन सबैलाई आग्रह गरेका छन् ।
उनले सत्तारुढ गठबन्धनलाई अपवित्र गठबन्धन भनेका छन् महानगरपालिकाका २९ वटै वडामा निर्वाचनको प्रचार गरेर जित आफ्नो पक्षमा ल्याउने दावीसमेत गरे । भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने आफ्नो संकल्प रहेको उनको दावी छ ।
शुक्रबारसम्म नेता पौडेललाई उमेदवारी फिर्ताको चौतर्फी दबाब आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले उमेदवारी फिर्ताको लागि गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन पठाएका थिए । नेता पौडेललाई उमेदवारी फिर्ताको लागि उनीहरूले दबाब दिए पनि उनी टसमस भएनन् ।
उम्मेदवारी फिर्ता नगरेपछि मेयरका उम्मेदवार पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक कांग्रेसकी महासमिति सदस्य मिना खरेल स्वतः निलम्बनमा परे पनि उनीहरूले नेता पौडेललाई साथ दिइरहेका छन् । सत्तारुढ गठबन्धनले भरतपुर माओवादी केन्द्रलाई दिने निर्णय गरेसँग यहाँका कांग्रेसमा ठूलो असन्तुष्टि देखिएको थियो । सोही असन्तुष्टि समूहले पौडेललाई उमेदवार बनाएको हो ।
भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उमेदवार बनेका छन् ।









