एमाले वीरेन्द्रनगरको चुनावी प्रतिबद्धतामा नगरबस सञ्चालनदेखि विमानस्थल विस्तारसम्म

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन प्रतिबद्धता २०७९ सार्वजनिक भएको छ । स्थानीय सरकारले एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा भन्ने मूल नारा साथ एमाले वीरेन्द्रनगर नगर कमिटीले निर्वाचन प्रतिबद्धता २०७९ सार्वजनिक गरेको हो ।

नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा नीलकण्ठ खनाल चुनावी मैदानमा होमिएका छन् । एमाले वीरेन्द्रनगरका उम्मेदवार सँगै अन्य नगर कमिटी तथा अन्य नेता तथा कार्यकर्ताको सहभागितामा शनिबार बिहान निर्वाचन प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

उक्त निर्वाचन प्रतिबद्धता अनुसार वीरेन्द्रनगर नगर क्षेत्र भित्रका सडकहरूको स्तरोन्नति गरी नगरबस सञ्चालनदेखि उपयुक्त स्थानमा सुर्खेत विमानस्थलको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ । यस्तै, हालको नगरपालिकालाई उपमहानगरपालिका बनाउनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास, वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारमा योजना निर्माण गरिने, रत्न राजमार्गदेखि दक्षिणतर्फ क्षेत्रको बाटोको क्षेत्राधिकार तोकी सडक कालोपत्रे स्तरोन्नतिमा व्यवस्थापन गरिने एमालेले जनाएको छ ।

हालको सिटी बसपार्क विस्तार गरी सञ्चालनमा ल्याइने, वीरेन्द्रनगर नगर क्षेत्रभित्र निर्माण हुने भौतिक पूर्वाधारको दिगोपनका निम्ति निर्माण सामाग्रीहरूको गुणस्तर परीक्षण गर्न सिभिल इन्जिनियरिङ ल्याब स्थापना गरी सोको सञ्चालन, विद्युतीकरण हुन नसेका विभिन्न वडाका क्षेत्रहरूमा विद्युतलाई विस्तार गरी वत्ति बाल्न सहज बनाउने जस्ता योजना एमालेले अगाडी सारेको छ ।

यस्तै, अटो ग्यारेज जस्ता उद्योगहरूलाई निश्चित क्षेत्र तोकी उक्त क्षेत्र भित्र मात्र व्यवसाय सञ्चालन गर्न व्यवस्थापन गरिने, वीरेन्द्रनगरमा निर्माणाधीन सम्पूर्ण सडक निर्माणमा तीव्रता दिँदै संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिने, वीरेन्द्रनगरको सिटी स्टेशन गुरुयोजनालाई आधार मान्दै बजार क्षेत्रको ढक निकास बनाउने साथै साझेदारी निकाय सहरी विकास मन्त्रालय, नगर विकास कोष, दातृ निकाय लगायतको सहयोगमा सघन सहरी विकास कार्यक्रम अघि बढाउने जस्ता योजना एमाले वीरेन्द्रनगरले अगाडी सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *