‘हाम्रा ३५ जनप्रतिनिधिसँग प्रतिस्पर्धा गर्ने आँट कसैले गरेनन्’

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट उम्मेदवार उठेका ३५ जना जनप्रतिनिधिसँग प्रतिस्पर्धा गर्न कुनै दलका जनप्रतिनिधिले आँट नगरेको दाबी गरेका छन्। साथै, अध्यक्ष नेपालले आफ्ना ३५ जना उम्मेदवार स्वतः निर्विरोध निर्वाचित भइसकेको समेत दाबी गरे।

आज शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको उललेख गरेका हुन्।

एकीकृत समाजवादीबाट एकल उम्मेदवारी परेका उनीहरू निर्विरोध निर्वाचित भइसकेको बताउँदै उनले भने, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रूपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरूमध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा(एकीकृत समाजवादी)सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरू निर्विरोध निर्वाचित भए। १ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो। ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो। २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो। झण्डै ३५ जना व्यक्तिहरूले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिह्न, त्यो बोक्ने पार्टी नेकपा(एकीकृत समाजवादी)को विजयको झण्डा फहराउँदै उहाँहरू अगाडि बढ्नुभयो। प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग।’

त्यस्तै, गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउँदै उनले दलहरूले अहंकार नराखी वस्तुनिष्ठ भई चल्नुपर्ने बताएका छन्। उनले भने, ‘प्रत्येक व्यक्तिले आफूलाई केन्द्रबिन्दुमा राखेर नै परिस्थितिको विश्लेषण र मूल्यांकन गरेका थिए, छन् भन्ने पनि होला। त्यसको हामी समीक्षा गर्दै जाउँला । तर हामी खासगरीकन के चाहन्छौँ भने, म होइन हामी भन्ने भावनाका साथ, आफू होइन हाम्रो ध्येय, उद्देश्यलाई हासिल गर्ने काममा सफलता पाउने सोचका साथ अगाडि बढ्न सक्नुपर्छ। तब न हामी कम्युनिष्ट भन्ने कुराको अर्थ छ।’

वैशाख ३० गते हुने निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा गर्दै अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *