अब क्यूआर काेडबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा अब ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने भएकाे छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैँक लिमिटेडबीचकाे सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको ट्राफिक प्रहरीले जनाएकाे छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य हुने प्रहरीले जनाएकाे छ ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलेट्राफिक नियम उल्लङ्घन गरे उपरसेवाग्राहीहरूले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमादेखिएको क्यूआर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरिसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सक्ने बताए ।

उनले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा कुमारी बैंकका डिजिटल बैंकिङप्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुसी भएको बताए । उनले यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।
यस अघि नै ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था शुरू गरिएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैंकका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *