स्थानीय निर्वाचन : महिलालाई नेतृत्वमा पुर्‍याउन कर्णालीका प्रमुख दल नै असफल

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णालीका प्रमुख राजनीतिक दलहरूले नै महिलालाई प्रमुख भूमिकामा उतार्न नसकेको देखिएका छ । समावेशिताको अधारमा महिलालाई पुरुष सरह समान सहभागिता गराउने सिद्धान्त बोकेका कर्णालीका प्रमुख दलहरूले प्राप्त मात्रामा महिलालाई नेतृत्वमा ल्याउन नचाहेको देखिएको छ ।

७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा महिलालाई नेतृत्वमा पुर्याउने सवालमा प्रमुख राजनीतिक दल नै पछि परेका हुन् । ७९ पालिकामध्ये स्थानीय सरकार प्रमुखमा सबैभन्दा बढी नेकपा एमालेले महिलाको नेतृत्व छनौट गरेको छ भने नेकपा माओवादी र नेपाली कांग्रेसले महिला नेतृत्वलाई खासै प्राथमिकता दिएको देखिँदैन । यता नेकपा एकीकृत समाजवादीले कर्णालीमा महिला नेतृत्वलाई शून्यमा पुर्याएको छ ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतका नौ वटा स्थानीय तहमध्ये नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाललाई अगाडि सारेको छ । यस्तै, हुम्लाको चंखेली गाउँपालिकामा विमलाकुमारी शाही, जुम्लाको गुठिचौर गाउँपालिकामा झनमाया जैसीलाई नेकपा एमालेले अध्यक्ष पदको उम्मेदवार बनाएको छ । हुम्लामा सात पालिका रहेका छन् भने जुम्लामा आठ पालिका छन् ।

नौ पालिका रहेको कालिकोटमा पचालझरनाको अध्यक्षमा सविना बोगटीलाई एमालेले अध्यक्ष बनाएको छ । दैलेखमा ११ पालिका रहेकोमा एमालेले एक जना महिलालाई नेतृत्वमा ल्याएको छ । एमाले दैलेखले ठाटीकाँध गाउँपालिकामा लक्ष्मीदेवी शाहलाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

यी बाहेक ६ पालिका रहेको रुकुम, चार पालिका रहेको मुगु, सात पालिका रहेको जाजरकोट र दश पालिका रहेको सल्यानमा नेकपा एमालेले महिला नेतृत्व शून्यमा झारेको छ । यी जिल्लामा नेकपा एमालेले महिला उम्मेदवार छान्न सकेन् ।

यस्तै, नेपाली कांग्रेसले कर्णालीका दुइ नगरपालिका र एक गाउँपालिकामा नगरप्रमुखको नेतृत्वमा महिलालाई अगाडि सारेको छ । दैलेखको नारायण नगरपालिकामा निर्मला थापा खड्का तथा कालिकोटको खाँडाचक्र नगरपालिकामा तारा शाहलाई मेयरको उम्मेदवार बनाएको छ ।

यस्तै, सुर्खेतको चौकुने गाउँपालिकामा गीता धमलालाई कांग्रेसले अध्यक्ष उम्मेवार बनाएको छ । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीका अनुसार यी २ नगरमा महिला उम्मेदवार गठबन्धनको मर्म अनुसार टिकट दिइएको बताउँछन् । ‘गठबन्धनको निर्णय अनुसार कुन पालिकामा कसले उम्मेदवारी दिए भन्ने विवरण संकलन गरिरहेका छौँ ।’ उनले भने, ‘१६ गतेसम्म गठबन्धनविरुद्ध परेका कार्याकर्ताका मनोनयन उम्मेदवारी फिर्ता गराउने योजना भएका कारण अहिले नै को कहाँ भए भन्ने भन्न मुस्किल छ ।’ उनले कांग्रेसले सबैपालिकामा उम्मेदवारी दर्ता गरेको बताए ।

यता, नेकपा मओवादीले भने प्रदेश भरमा जम्मा एक स्थानमा मात्रै महिलालाई कार्यकारी भूमिकामा अगाडि सारेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा शिवा आचार्यलाई मात्रै उसले उम्मेदवार बनाएको हो । रुकुम माओवादीको आधार क्षेत्र भनेर प्रचार गरिएपनि त्यहाँसमेत महिलालाई नेतृत्वमा ल्याउन माओवादी असफल देखिएको छ । ‘हामीले जाजरकोट बाहेक अन्य जिल्लामा महिलाको नेतृत्व कायम गर्न सकेनौं ।’ प्रदेश कमिटी अध्यक्ष विमला केसीले भनिन्, ‘गठबन्धन बनाउन हाम्रो ध्यान गयो, जिल्लाका साथीहरूले मिलाउन नसक्दा महिला सहभागिता अत्यन्तै कम भएको छ । यो कर्णालीमा मात्र नभएर देशैभरी समस्या देखिएको हो । महिलालाई नेतृत्वमा आउन असाध्यै चुनौतीपूर्ण अवस्था देखिएको हो ।’ गठवन्धनमा भागवण्डा कारण महिलाहरू नेतृत्वमा आउन नसकेको केसीको भनाई छ ।

उनले नेकपा माओवादीले एक जिल्लामा एक जना महिलाको नेतृत्व हुने गरी टिकट वितरण गर्ने निर्देशन आए पनि कार्यान्वयन गर्न नसकिएको बताईन । यसका अलावा उनले कर्णालीमा गठबन्धन गरिएका ६४ पालिका मध्ये आफ्नो पार्टीले जितेका बाहेक अन्य भागवण्डामा परेका पालिकामा पनि प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष र उपाध्यक्षमा महिला सहभागिता कम हुने देखिएको बताईन । यद्यपी आफूहरू त्यसलाई मिलाउनका लागि लागिरहेको उनको भनाई छ ।

यता, नेकपा एकीकृत समाजवादीले भने कर्णालीको कुनैपनि पालिकामा महिलालाई प्रमुख पदमा उठाउन सकेन । ‘हामीले कुनैपनि जिल्लामा रहेका पालिकाको प्रमुख पदमा महिलालाई प्रमुख उम्मेदवार बनाउन सकेनौँ ।’ नेकपा समाजवादीका महासचिव प्रकाश ज्वालाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *