सरकारी कार्यालयको बदमासी, माईन्युट केरेर उम्मेदवारको राजीनामा स्वीकृत

पोखरा । नेकपा एमालेको तर्फबाट मादी गाउँपालिका ८ को वडाध्यक्षमा प्रेमबहादुर गुरुङले उम्मेदवारी दिए । उनले १२ गते उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारी पछि प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसले उनी विरुद्ध सरकारी बेतन खाएर उम्मेदवारी दिएको आरोप सहित निर्वाचन कार्यालयमा निवेदन दियो । उनी सरकारी तलब लिएर अतिरिक्त हुलाक कार्यालय नागीदारमा कार्यरत थिए । उनले मंगलबारसम्म राजीनामा दिएका थिएनन् । उनले जागिरबाट राजीनामा दिए/नदिएको हेर्न कांग्रेस मादीका नेताहरू पोखरा आए । कार्यालय बन्द हुने समयसम्म उनको राजीनामा थिएन ।

तर बुधबार बिहानै उनको राजीनामा स्वीकृत भएको भेटिएको छ । गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक निर्देशनालय, पोखराका निर्देशकलाई सम्बोधन गर्दै ९ गतेको मितिमा लेखेको राजीनामा पत्र ११ गते दर्ता गराएका छन् । गुरुङको राजीनामा पत्र प्राप्त गरिसकेपछि निर्देशनालयले उनी सरकारी कर्मचारी नभएको भन्दै स्वीकृत गरेन । निर्वाचन कार्यालयको तालिका अनुसार उनले मादी ८ का लागि उम्मेदवारी दिए । सोही वडामा नेपाली कांग्रेसकी लालदेवी घलेले पनि अध्यक्ष मै उम्मेदवारी दिएकी छिन् ।

निर्वाचन तालिका अनुसार ११ र १२ गते दर्ता भएका नाम उपर १३ र १४ गते दाबी विरोधको समय तोकको थियो । कांग्रेसबाट वडाध्यक्षका प्रत्याशी घलेले अतिरिक्त हुलाकबाट राजीनामा स्वीकृत नभई वडाध्यक्षमा उम्मेदवार बनेको आरोपसहित निवेदन दिइन् । ‘दाबी विरोधको समय आएपछि हामीलाई शंका लाग्यो त्यसपछि मैले पोखरा बस्ने मादी ४ को नेता जनकराज सापकोटालाई राजीनामा स्वीकृत भयो की नाइँ भनेर बुझ्न पठाएको थिए,’ उनले भने, ‘हिजो ५ बज्न लाग्दा सम्म राजीनामा स्वीकृत नभएको कन्फर्म भएपछि दाबी विरोध गरेका हौँ ।’

सापकोटाले पनि आफू ५ बजे पुग्दा निर्देशनालयका निमित्त हुलाक निर्देशक तुलसी आचार्यले राजीनामा स्वीकृत नभएको बताएको दाबी गरे । ‘म साढे ४ बजेतिर कार्यालय पुगेको थिएँ । त्यहाँ हाकिम शा’वसहित ४ जना हुनहुन्थ्यो,’ उनले भने, ‘मैले प्रेमबहादुर गुरुङको राजीनामाको बारेमा सोध्दा स्वीकृत नभएको जानकारी दिएकै हो ।’ तर बुधबार दिउँसो निर्वाचन कार्यालयमा दाबी विरोधको बारेमा बुझ्दा राजीनामा स्वीकृत भएर आएको खबर पाएपछि अचम्ममा परेका छन् ।

सभापति गुरुङले हुलाकका निमित्त निर्देशकले सरकारी तलब खाएर राजनीति गरेको आरोप लगाए । निर्देशनालयले उनको राजीनामा स्वीकृत भएको निर्णय देखाएको छ । तर चलानी दर्ता नम्बर र मिति केरिएको छ । हुलाकको चलानी बुकमा बाली संरक्षण प्रयोगशाला, पोखराको सूचना टाँस सम्बन्धी चलानी नम्बर र राजीनामा स्वीकृत गरिएको चलानी नम्बर एउटै (४७१) छ । प्रयोगशालाको दर्ता भएको मिति सुरुमा १-१३ लेखिसकेपछि राजीनामा स्वीकृतको मिति मिलाउन फेरी त्यही माथि केरेर १-१२ लेखेर निर्देशनालयले बदमासी गरेको प्रस्ट देखिन्छ ।

जसमा प्रेमबहादुर गुरुङको राजीनामा स्वीकृत हुलाक सेवा विभाग-बबरमहल, काठमाडौँ, नागीदार अतिरिक्त हुलाक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीलाई बोधार्थ गरिएको छ । त्यसमा स्वीकृत मिति १-१२ छ । निर्वाचन अधिकृतको कार्यालयले पत्र लेखेपछि मात्रै रजिस्टर मिलाइएको कांग्रेसको आरोप छ ।

हुलाक निर्देशनालयका निमित्त निर्देशक तुलसी आचार्यले सबै प्रक्रिया पुर्‍याएर वैशाख १२ गते नै राजीनामा स्वीकृत गरेको दाबी गरे । ‘प्रतिनिधिहरूसँग सोधेर उसको जिम्मामा केही छ की छैनन् क्लियर भएपछि स्वीकृत दिने हो,’ उनले भने, ‘उनले दिएको मितिमै गर्न पनि सकिन्थ्यो तर चिठी नै ढिलो भयो । हामीले स्वीकृत गरेर राखियो पत्र चाहिँ पछि लगेको हो ।’ निर्वाचन कार्यालयले गरेको काम शंकास्पद भएकाले चलानी नम्बर केरमेट गरेको मिति लगायतको प्रमाण लिएर फेरी आफूहरू निर्वाचन कार्यालय जाने सभापति गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *