चुनावी गतिविधि बढाउँदै दलहरू

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन्। निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो।

भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकासहित पाँचवटा पालिका रहेको कास्कीमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन, नेकपा (एमाले)सहित अन्य दल एवम् स्वतन्त्रबाट प्रमुख-उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यसहित कूल एक हजार ४९१ जनाको उम्मेदवारी परेको छ। निर्वाचनबाट कूल ३७० जना जनप्रतिनिधि जिल्लामा निर्वाचित हुनेछन्।

उम्मेदवारी मनोनयनसँगै कतिपय स्थानमा गठबन्धन एवम् दलसँग सम्बद्ध नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका कारण उक्त उम्मेदवारी फिर्ता गराउनेतर्फ पनि दलहरूको सक्रियता बढेको छ। उम्मेदवारको अन्तिम नामावली तयार भएपछि १६ गतेदेखि मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई अझै सक्रियताका साथ अघि बढ्ने नेताहरू बताउँछन्।

कांग्रेसले निर्वाचनको तयारीलाई तीव्रताका साथ अघि बढाएको कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवम् पोखरा महानगरपालिकाका उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले जानकारी दिए। “कांग्रेससहितको गठबन्धन चुनावी अभियानमा लागेका कारण गठबन्धन दलसँग छलफल गरी हामी चुनावी कार्यक्रमलाई अघि बढाउन लागेका छौँ”, उनले भने, “यही १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र निर्वाचन परिचालन समितिले तय गरेअनुसार मतदाता भेटघाट एवं घरदैलो कार्यक्रम अघि बढ्नेछन्।”

निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो तयारी सक्रिय बनाएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले जानकारी दिए। पार्टीले पालिकास्तरमा पार्टीका विभिन्न समितिहरूलाई परिचालन गर्ने उनले बताए। चुनाव प्रचारप्रसारअन्तर्गत घरदैलो, मतदाता शिक्षासँगै एमालेको नेतृत्वमा यस अघि भए गरेका कामबारे मतदातालाई जानकारी गराउने उनले जानकारी दिए।

चुनावलाई लक्षित गरी गठबन्धन दलका तर्फबाट घोषणापत्र तयारी गर्ने काम भइरहेको नेकपा (माओवादी केन्द्र) नेता एवम् घोषणापत्र निर्माण समितिका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *