स्थानीय तह निर्वाचन : सुर्खेतमा गठबन्धनमा गन्जागोल, छुट्टाछुट्टै मनोनयन

सुर्खेत । यहीँ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न लागिएको छ । निर्वाचन कार्यतालिकाअनुसार सुर्खेतमा पनि दलहरूले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सुर्खेतका सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा र स्वतन्त्रले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । सुर्खेतका नौ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ ।

गठबन्धन गर्ने भनिएपनि अन्तिम समयमा सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेका गठबन्धन दल र एमाले लगायतका दलहरूले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयनको अन्तिम दिन गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र एमालेसहित अन्य दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका
नेपाली काँग्रेसबाट वीरेन्द्रनगरको नगर प्रमुख उपेन्द्रबहादुर खड्का र उप–प्रमुखमा रामकुमारी थापा ‘खड्का’ को उम्मेदवारी दर्ता भएको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा राजेन्द्र गिरी र उप–प्रमुखमा शान्ति ढकालको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा वीरबहादुर रावत, उप–प्रमुखमा धना शाही, एमालेबाट प्रमुखमा मोहनमाया ढकाल र उप–प्रमुख नीलकण्ठ खनाको उम्मेदवारी दर्ता भएको छ । राप्रपाबाट मुकुन्दश्याम गिरी र उप–प्रमुखमा लक्ष्मीकुमारी विक ‘अन्जु’ को उम्मेदवारी परेको छ ।

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको उपप्रमुखमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । आगामी स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको उपप्रमुखमा अनिल ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भेरीगंगा नगरपालिका
सुर्खेतको भेरीगंगा नगरपालिकामा सत्तारुढ दलहरूले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नगरपालिकाको प्रमुखमा रामबहादुर सिंह र उप–प्रमुखमा प्रतीक्षा विकले उम्मेदवारी दर्ता गराएका छन्, भने नेकपा एमालेबाट यज्ञप्रसाद ढकाल र उप–प्रमुखमा धनसरा बोहोराको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुर्भाकोट नगरपालिका
यस्तै, गुर्भाकोट नगरपालिका को प्रमुखमा काँग्रेसबाट हस्त पुन, उप–प्रमुखमा मैना विक तथा एमालेबाट तिलक खत्री प्रमुख र उप–प्रमुखमा सुशीला विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

पञ्चपुरी नगरपालिका
पञ्चपुरीको नगर प्रमुखमा नेपाली काँग्रसबाट लालवीर भण्डारी प्रमुख र मुक्तिदेवी पुरीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट पञ्चपुरीमा धनबहादुर थापा र दुर्गा रिमाल जैसी प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै नेकपा माओवादीबाट केशव शाही नगर प्रमुख र उपप्रमुखमा विमला संज्यालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

लेकवेशी नगरपालिका
लेकवेशी नगरपालिकाको प्रमुखमा काँग्रेसबाट उमेश पौडेल, उपप्रमुखमा लिलमति विक तथा एमालेबाट प्रमुखमा देव राना र विमला खड्लुकको उम्मेदवारी दर्ता भएको छ ।

सिम्ता गाउँपालिकामा
यस्तै सिम्ता गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा वीरेन्द्र रावत, उपाध्यक्षमा बालकुमारी पुन तथा नेकपा एमालेबाट अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् ।

चिङ्गाड गाउँपालिका
चिङ्गाड गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट डोरप्रसाद शर्मा, उपाध्यक्षमा मोहनमाया आचार्य, नेकपा एमालेबाट अध्यक्षमा वोधविक्रम जिसी, उपाध्यक्षमा मिनाकुमारी रोकाय, माओवादीबाट अध्यक्षमा जितबहादुर राना र उपाध्यक्षमा दुर्पटा बफाल पुनमगरको उम्मेदवारी दर्ता हुँदा काँग्रेसबाट अध्यक्ष पदमा हरिप्रसाद शर्मा र उपाध्यक्षमा चन्द्रा रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

बराहताल गाउँपालिका
बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट भिम भण्डारीको उम्मेदवारी दर्ता भएको छ, भने उपाध्यक्षमा लक्ष्मी पुनले उम्मेदवारी दर्ता गरेकी छन् । एमालेबाट घनश्याम पाण्डेको उम्मेदवारी दर्ता हुँदा उपाध्यक्षमा दुर्गा विष्टको उम्मेदवारी परेको छ ।
यस्तै, नेकपा माओवादीबाट अध्यक्षमा ईश्वरभक्त सुनार र उपाध्यक्षमा भुमिसरा टमटा रहेका छन् ।

चौकुने गाउँपालिका
सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हरि अधिकारी र उपाध्यक्षमा निर्मलाकुमारी रानाको मनोनयन दर्ता भएको छ । चौकुनेमा नेपाली काँग्रेसबाट उपाध्यक्षमा नरबहादुर बान्तोलाको उम्मेदवारी दर्ता भएको छ । चौकुनेमा गठबन्धन दलबीच कुरा नमिल्दा अध्यक्ष पदमा उम्मेदवारी दर्ता हुन सकेको छैन । गठबन्धन गरेर जाने निर्णय भए अनुरूप भागबन्डा मिलाउन नेपाली काँग्रेसले अध्यक्ष पद छाडेको छ ।

अध्यक्ष पद लिने विषयमा माओवादी र समाजवादीमा कुरा नमिल्दा गठबन्धन धरापमा परेको हो । चुनावमा गठबन्धन गरेर जाने की एक्ला एक्लै जाने भन्ने विषयमा कुरा नमिल्दा अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *