सिटी रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

विराटनगर । आइतबार बिहान करिब १२ बजेतिर सिटी चलाउँदै एक व्यक्ति विराटनगरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगे । पहिला प्रहरीले उनलाई कार्यालय भित्र प्रवेशमा नै रोक्यो । तपाईँको के काम छ भनेर केरकार पनि गर्‍यो । त्यसपछि उनी आफूभित्र उम्मेदवार बन्नको लागि आएको भनेर सुझाए ।

सिटी रिक्सा चलाउने उनले चालक पोसाक नै लगाएका थिए । त्यसले गर्दा पनि सुरक्षामा गेटमा बसेका प्रहरीहरू झुक्किए । उनले मनोनयन दर्ताको लागि आएको बेलिबिस्तार लगाएपछि भित्र पस्न पाए । त्यसको केही बेर उनी त्यहाँ निर्वाचन अधिकृतको कार्यालय परिसरमा मलमल देखिन्थे । पढ्न लेख्न राम्रो नजान्ने उनले आफूलाई लेख्न जान्ने चाहिएको बताए । रिपोर्टिङका लागि त्यहाँ पुगेका केही पत्रकारहरूले लेख्न नजान्नेहरूको लागि डेस्क राखेर पैसा लिनु पर्छ कि के हो भन्नै गफिँदै पनि थिए ।

उनी निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरू बसेको ठाउँमा गएर मनोनयन पत्र लिए र लेखिदिनु पर्ने भन्दै उनीहरूको सहारा लिँदै थिए । मोरङको विराटनगर महानगरपालिका ६ घर भएका ध्रुवकुमार विश्वकर्मा वडा अध्यक्षको लागि मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा भेटिएका थिए । उनी सिटी रिक्सा चलाउँछन् । त्यसबाट हुने आम्दानीले परिवारको खर्च टर्छ । जीवन बाँच्न दुखजिलो गरेर बसेका उनलाई आगामी वैशाख ३० गते हुने निर्वाचनमा वडा अध्यक्ष बन्ने मन छ । उनले विराटनगर महानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराए ।

उनलाई आफ्नो जीवन भोगाई भन्दापनि राजनीतिमा नैतिकता हराएको बारेमा उनलाई फिटिक्कै मन परेको छैन । उनी उम्मेदवार बन्न आउनुको कारण भनेको दलित र गरिबका कुरा कतै सुनिएन भन्ने नै हो । विभिन्न सरकारी कार्यालयहरूमा जाँदा ४/५ दिनसम्म काम नहुँदाको पिडा उनलाई जति अरूलाई सायदै होला । गाउँका साथीहरूले पनि उम्मेदवारी दिन सुझाएपछि उनी वडा अध्यक्षको लागि उम्मेदवार बनेका छन् । ‘पहिले म कांग्रेस र त्यसपछि माओवादीमा लागेँ, उनले भने, सबै पार्टी उस्तै देखेँ, चित्त बुझेन अनि स्वतन्त्र उम्मेदवारी दिएँ ।’ उनले आफू वास्तविक दुःखमा परेका जनताको सेवा गर्नका लागि वडाध्यक्ष बन्न लागेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *