भरतपुर र माडीमा एमाले-राप्रपा तालमेल

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने भएको छ भने उपमेयर राप्रपालाई दिइएको हो ।
राप्रपा चितवनले उपमेयरको उम्मेदवार छनौट गर्न बाँकी छ । भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेर आफ्नो उम्मेदवार छनौट गरिरहेको छ । एमालेले माडी नगरपालिकाको मेयरमा यसअघिका उपमेयर ताराकाजी कुमारी महतोलाई उम्मेदवार बनाउने भएको छ । राप्रपाले माडीको उपमेयर पनि छनौट गर्न बाँकी छ ।
एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिका प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । खैरहनीको प्रमुखमा एमालेले फेरि चौधरीलाई नै उठाउने भएको हो ।
रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले रत्ननगरको प्रमुखमा उपप्रमुख भएर एक कार्यकाल काम गरेकी दुवाडीलाई उठाउने भएको हो ।
इच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेको छ । आज पालिका वडाध्यक्षको टुङ्गो लाग्ने बताइएको छ ।









