६३ जनप्रतिनिधिसहित विराटनगरका १४ वडा अध्यक्षले राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाबाट ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्।

विराटनगर महानगरपालिकाका अनुसार वडा अध्यक्ष र वडा सदस्य गरि ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन्। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि विराटनगर महानगरपालिकामा दुई दिनमा ६३ जना जनप्रतिनिधिले राजीनामा दिएको बिराटनगर महानगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए।

निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन्। राजीनामा दिनेमा १४ वडा अध्यक्ष र ४९ जना वडा सदस्य छन्। निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिँदा विराटनगर महानगरपालिकाका ५ वटा वडा भने जनप्रतिनिधिविहीन नै भएका छन्। विराटनगरका ४, ५, १७, १८ र १९ नम्बर वडा जनप्रतिनिधिविहीन भएको महानगरले जनाएको छ। ५ वटै वडाका अध्यक्ष र सदस्यसहित सबैले राजीनामा दिएपछि ती वडाहरू जनप्रतिनिधिविहीन भएका हुन्। जनप्रतिनिधि विहीन वडाको जिम्मेवारी वडा सचिवलाई दिइएको छ।

राजीनामा दिने वडाध्यक्षहरूमा विराटनगर–४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का (कार्यवाहक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदारले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताएका छन्।

अहिलेसम्म मेयर र उपमेयरले भने राजीनामा दिएका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *