सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तह निर्वाचनको चहलपहल

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ।

दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन्। दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन्। चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ। विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन्। काठमाडौँमा एक महानगर र १० नगरपालिका रहेका छन्।

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आज काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाका प्रमुखको निर्णय गर्न बैठक बोलाएको जनाइएको छ। प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले भने शनिबार महानगरपालिकामा पार्टीका तर्फबाट चुनाव लड्नेको अन्तिम निर्णय गर्ने जनाइएको छ। अन्य नगरपालिकाका नेतृत्वको टिकट भने प्रदेश समितिले दिनेछन्। वडा तहको निर्णय पार्टीका जिल्ला संयन्त्रले गर्ने जनाइएको छ।

राजधानीका काठमाडौँ महानगरपालिका, शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा निर्वाचन कार्यालय बिहीबारदेखि स्थापना भइसकेको छ। महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह र अन्य नगरपालिकाको कार्यालय सम्बन्धित नगरपालिकामा गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी समिता बस्नेतले राससलाई जानकारी दिए। निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ।

काठमाडौँमा ६ लाख ३७ हजार ७७५ मतदाता छन्। त्यसमा तीन लाख २९ हजार ५४५ महिला, तीन लाख आठ हजार २२१ पुरुष र नौ अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *