ललितपुर ग्यास विस्फाेट घटनाकाे छानबिनका लागि समिति गठन

ललितपुर । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनको समय दिइएको मन्त्रालयले जनाएको छ ।

उक्त औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा आज बिहान १० बजे उद्योगको फिलिङ प्लान्टमा विस्फोट भएको थियो ।

विस्फोट लगतै मन्त्री बडू, सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयका उच्च पदाधिकारीले तत्काल घटनास्थलमा पुगी घाइतेसँग भेटघाट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै मृतकका परिवारका सदस्यसँग भेटघाट गरी समवेदना व्यक्त गरेका थिए ।

उद्योगमा भएको विस्फोटको कारण हुन गएको क्षतिका बारेमा जानकारी लिँदै मन्त्री बडूले मृतकका परिवारलाई तत्काल राहत र घाइतेहरूको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउने बताएका थिए ।

उनले उद्योगले अक्सिजन आपूर्ति गरिरहेका निकायलाई अक्सिजन ग्यासको सहज आपूर्तिको निरन्तरताका लागि ग्यास उत्पादन सङ्घलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

याे पनिः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *