१२ वर्षको उमेरदेखि राजनीतिमा सपना बुनेकी ‘कल्पना’

सुर्खेत । दैलेखको आठबिस नगरपालिकाको उप-मेयरको उम्मेदवारमा नेकपा (एमाले)बाट सिफारिस कल्पना थापा सानै उमेरदेखि राजनीतिमा होमिएकी नेतृ हुन् । आसन्न वैशाख ३० मा हुन लागेकाे स्थानीय तहको निर्वाचनका लागि एमालेबाट उप-मेयरका लागि एक नम्बरमा थापाको नाम सिफारिस भएको छ । कल्पनाको राजनीतिक यात्रा भने विद्यालयबाटै शुरू भएको हो ।

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट कक्षा ७ मा पढ्दैगर्दा १२ वर्षको उमेरमा पहिलो पटक संगठनको सदस्यता पाएकी हुन् । त्यत्तिबेलाकाे समयमा थापा दैलेखको नारायण नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा कक्षा ७ मा अध्ययनरत थिन् ।

सानै उमेरमा राजनीतिमा लागेकी थापा संगठनलाई विस्तार गर्नका लागि गाउँ-गाउँसमेत पुगिन् । उक्त समयमा दैलेख जिल्लाका सबै ठाउँमा पुगेर थुप्रै संगठन विस्तार गरेको थापा बताउँछिन् । उनले भनिन्, ‘संगठन विस्तारका लागि टोल अर्थात् विद्यालयमा पुग्न दुई/तीन दिन हिँड्नुपर्ने हुन्थ्यो । फोन हुँदैन थियो । सवारी साधन नहुँदा गाउँ-गाउँमा संगठन विस्तारमा पुग्नका लागि कयौं घण्टा भोक-भोकै हिँड्यौं । गाउँमा कहाँ बस्ने के खाने जस्ता समस्या आइरहन्थ्ये । दैलेखका पश्चिम विशाला, लकान्द्र, पिपलकोट, सिंहासैन, छेपाडी, राकमकर्णालीलगायतका दुर्गम क्षेत्रमा पनि भोक/तिर्खा, रात/दिन नभनेर संगठन विस्तार गरेका यादहरू अझै पनि ताजै छन् ।’

दाइ र बहिनिबीच टकराव

थापाले आफ्नै घरमा दाइसँग भने राजनीतिमा कडा प्रतिस्पर्धा लागि टकरावसमेत चल्ने गरेको विगत सुनाइन् । घरको माइलो दाइ नेपाल विद्यार्थी संगठन र बहिनी अखिलतिर हुँदा घरभित्रैबाट राजनीति शुरू भयो । यसले गर्दा आफूलाई नेतृत्वमा पुग्न थप बल पुगेको थापा बताउँछिन् ।

उनकीअनुसार घर परिवारबाट दाईहरू र बुबा/आमाले राजनीतिमा नलाग्न सुझाव पनि नदिएका हैनन् । तर, एउटै घरमा फरक-फरक राजनीतिक दलको संगठनबाट राजनीति गर्ने भएपछि कल्पनालाई थप बलियो आधार नै घर बन्यो । थापा सुनाउँछिन्, ‘मेरो माइलो दाइ खेमराज थापा नेविसंघको नेता हुनुहुन्थ्यो, अनि म यताको त्यसैले हाम्रो राजनीतिको पाठ सिक्ने वातावरणको आधार नै घर बन्यो । दाइले समाज, विद्यालयलगायतका स्थानमा गरिने विभिध विषयवस्तुहरू बुझ्न र काम गर्न सजिलो भयो ।’

एउटै विद्यालयमा पढ्दा दाजुबहिनीबीच विवाद

कल्पना र उनका दाइ एउटै विद्यालयमा अध्ययनरत हुँदा पनि बेला-बेला विवाद हुने गर्दथ्यो । कल्पना सम्झिन्छिन्, ‘त्रिभुवन माविमा कक्षा १० मा पढ्दैगर्दा १५ वर्षकी थिएँ । विद्यालयको व्यवस्थापनका विषयमा लियर आन्दोलन भएको थियो । विद्यालय व्यवस्थापन र अखिलका विद्यार्थीबीच वार्ताका लागि बैठक बस्दैगर्दा दाइ कति जान्ने भएकी, कति बोलेको भन्दै एक थपड हिर्काउनुभयाे ।’ कल्पनाले थपिन्, ‘दाइचाहिँ नेविसंघको तर्फबाट हुनुहुन्थ्यो । म अखिलको तर्फबाट थिएँ । अर्को पटकको हाम्रो संगठनको बैठकमा पनि कति राजनीतिक गर्छेस् भन्दै कुट्नुभयो तर, मैले आफ्नो यात्रा निरन्तर बढाएँ ।’

थापाले दाइले राम्रैको लागि हिर्काउनुभएको कुरालाई मनन गर्दै आमाको साथ र सहयोगबाट थप राजनीतिक यात्रालाई अगाडि बढेको बताइन् । उनले भनिन्, ‘आमाले छोरीको इच्छा हामीले मार्नुहुन्न, उसको अधीकारको कुरा हो । उसको स्वतन्त्रताको कुरा हो । छोरी राजनीतिमै खुसी छिन् भने हामीले रोक्नु हुन्न भनेपछि मलाई थप सहज भयो ।’

विद्यार्थी राजनीतिमा निरन्तर

थापा साविकको भेरी अञ्चलबाट संगठनको केन्द्रीय सदस्य हुने महिलामध्ये दोस्रो नम्बरमा पर्छिन् । भूगोलका आधारमा कोठा छुटाउँदा पनि भेगीय हिसाबले कोठानै पर्दैन थियो । तर, पनि थापा भेरी अञ्चलबाट महिलाबाट २०६७ सालमा चुनाव लडेर नै केन्द्रीय सदस्य जितेकी हुन् । त्यत्तिबेलाकाे समयमा केन्द्रीय सदस्यमा पनि १०५ सदस्यीयको संगठन विस्तार हुने गर्दथ्यो । उक्त टिममा पर्न पनि निकै समस्या हुनुपथ्यो । धेरैनै मेहनत चाहिन्थ्यो ।

अनेरास्ववियुले २०६५ सालमा बाँकेको नेपालगञ्जमा आयोजना गरेको कार्याक्रमको लागि दैलेखबाट हिँडेर नै सुर्खेत झरेको थापाले बताइन् । उनले भनिन्, ‘असार साउनकाे महिना भएकोले गर्मी बढेको थियो । दैलेखमा गाडी पनि जाँदैन थियाे । पानीमा भिज्दै आएकोले मलेरियासमेत भएर तीन महिनै बेडमै थला परेँ । त्यसको हानी अझै पनि छ ।’

थापा २०६७ मा पहिलो पटक संगठनको केन्द्रीय सदस्य भएकी हुन् । त्यसपछि २०७० साल असोज महिना काठमाडौंमा भएको अनेरास्ववियुको महाअधिवेशनबाट पनि पुन केन्द्रीय सदस्य नै भइन् । त्यसपछि २०७२ साल माघमा भएको अधिवेशनबाट सचिवालय सदस्य हुँदै स्थायी कमिटि सदस्यबाट विद्यार्थी राजनीतिमा विट मार्दै हाल पार्टीमै आवद्ध भएकी छिन् भने नेकपा एमाले जिल्ला कमिटि सदस्यसमेत रहेकी छिन् ।

लाेकप्रिय नेतृकाे दर्जा

पछिल्लो समयमा सबैको आँखामा कल्पना लोकप्रिय नेतृको रूपमा परिचित भएकी छिन् । सानै उमेरदेखि राजनीतिमा हाेमिएकी कल्पनालाई सानो उमेरदेखि वृद्धावृद्ध उमेरसम्मका नागरिकले नजिकबाट राम्रो पक्षका रूपमा निहालेका छन् । सबैसँग घुलमिल र नरम स्वर र शान्त स्वभावकी थापा गरिब परिवारबाट धेरै संघर्ष गरेर राजनीतिका आएकी नेतासमेत हुन् ।

थापा आठबिसको उप-मेयरमा सिफारिस भएसँगै स्थानीय नागरिकहरूको अनुहारमा उत्साहसमेत जागेको छ भने आफ्नो नगरपालिकाले युवा नेतृत्वले विशेषगरी महिलाका आवाज उठाउन सक्षमसँगै आम महिला दिदीबहिनीहरूकाे सबै समस्याको समधान नसके पहल गर्न सक्ने क्षमतावान् उप-मेयरकी उम्मेदवारका रूपमा थापालाई लिने गर्दछन् ।

थापाले राजनीतिकशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययनलाई पूरासमेत गरिसकेकी छन् । केही समयअघि मात्रै सम्पन्न नेकपा एमाले जिल्ला कमिटि दैलेखको नयाँ नेतृत्का लागि भएको निर्वाचनमा थापाले आठबिसको भूगोल महिलाबाट निर्वाचति सम्पूर्ण कार्यसमित भन्दा धेरै ६८४ मतमा ४९३ भोट ल्याएर विजयी भएकी हुन् ।

यस्तै, आठबिसको उप-मेयरका लागि भएको मतदानका आधारमा सिफारिस कल्पनासँगै कमला, थापा, जौधरा आचार्य र नामसरा कार्कीभन्दा क्षमतावान् र समक्ष नेताका रूपमा नगरवासीले कल्पनालाई लिएका छन् । किनभने उम्मेदवारीमा सहमति नजुटेपछि भएको मतदानमा ५२ मत ल्याएर कल्पना थापाको नाम एक नम्बरमा सिफारिस भएको छ । यस्तै, कमला थापाले ३० मत, जौधरा आचार्यले ३३ र नामसरा कार्की ३४ मत मात्रै प्राप्त गरेपछि कल्पना प्रति नगरवासीकाे विश्वास आश पलाएको हो ।

कल्पनाले एक नम्बरमा नाम सिफारिस भएसँगै विशेषगरी नगरपालिकामा महिलाका लागि विशेष प्रकारका काम गर्ने आफ्ना मुख्य एजेण्डा रहेको बताएकी छिन् । उनले भनिन्, ‘नगरपालिकामा दिदीबहिनीहरूले साह्रै दुःख पाएका छन् । अझैसम्म चुलोचौको छुटेको छैन । अब स्थानीय सरकारलाई पनि राज्यले पूर्ण अधिकार दिएको छ । आफ्नो गाउँपालिका र आफ्नो ठाउँको समस्याको बारेमा कानून बनाउनसमेत अधिकार दिएको छ । त्यसैमा रहेर मैले काम गर्ने योजना बनाएकी छु ।’

थापाले थपिन्, ‘उप-मेयरमा जितेपछि गाउँघरमा घेरेलु हिंसामा परेका महिला दिदीबहिनीहरूकाे न्याय निरुपणका कार्यक्रमहरू ल्याउँछु । नगरपालिकाको एक नम्बर वडादेखि ९ नम्बर वडासम्मका हरेक घरमा भएका महिला दिदीबहिनीका लागि लक्षित कार्यक्रमहरू आएनका छैनन्, डोको, नाम्लो र चुल्हाेचाैकाबाट छुटाउने खालका योजनाहरू बनेका छैनन् । यी र यस्ता विषयमाथि मेराे नजर पर्नेछ । उनीहरूकाे पूर्ण अधिकारका लागि लड्नेछु । यसमा मेराे महत्त्वपूर्ण सहयाेग रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *