मध्यपश्चिम विश्वविद्यालयबाट ५१९ विद्यार्थी दीक्षित

सुर्खेत । मंगलबार मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । दोस्रो दीक्षान्तबाट पाँच सय १९ जना विद्यार्थी दीक्षित भएका छन् । मध्यपश्चिम विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सरिक हुने भनिएपनि कार्य व्यस्तताका कारण देउवाको सहभागिता भएन ।

शिक्षामन्त्री देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी र विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले कुलपति, उपकुलपति पदकका साथै सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्राप्त विद्यार्थीहरूलाई दीक्षित गरेका थिए ।

दीक्षित हुने पाँच सय १९ विद्यार्थीमध्ये कुलपति पदक ९, उपकुलपति पदक १८ र सुर्खेत उद्योग वाणिज्य संघ स्वर्णपदक ५ जनालाई प्रदान गरिएको थियो । समारोहमा सम्बन्धित सङ्कायका डिनहरूले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि प्रमाणपत्र पाउने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

दीक्षान्त समारोहमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयहरूको काँधमा रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सोमवार सुर्खेतमा सम्बोधन गर्दै उनले दक्ष जनशक्ति उत्पादन गरी मुलुकलाई समृद्धिको मार्गचित्रमा डोर्‍याउने दायित्व विश्वविद्यालयको रहेको बताए ।

विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानुनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताएका छन् । ‘माध्यमिक, उच्च शिक्षा र व्यावसायिक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौँ,’ उनले भने, ‘तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनर्संरचनामा जोड दिएको छ ।’ उहाँले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिए ।

शिक्षा सम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउने उनको विश्वास थियो । विश्वविद्यालयको पुनर्संरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसङ जोड्नुपर्ने धारणा राखे । यसका लागि सरकारले सातवटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा एक सय चालिस वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उनको भनाई छ ।

दीक्षान्त समारोहमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले भने ‘तपाईँको हातमा आज परेको प्रमाणपत्र डिग्रीका लागि मात्र होइन, यसमा तपाईँको अभिभावकको परिश्रम र समाजको अपेक्षा मिसिएको छ । तपाईँको हातमा डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनुपर्ने जिम्मेवारी थपियो भन्ने बुझ्नुहोस् ।’

उनले नेपालसँग ४० वर्षदेखि आफ्नो सम्बन्ध जोडिएको बताए । नेपालबाट बेचबिखनमा परेका कतिपय बालबालिकाको उद्धार आफ्नो अभियानबाट गरिएको उनले बताए । बाल श्रमिकविरुद्ध विश्वव्यापी अभियानका अध्यक्षसमेत रहेका सत्यार्थीले शिक्षा नै विकासको मुख्य आधार भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयका ६ वटा भवनहरू निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेका, सात वटा बहुवर्षीय परियोजनाहरू शुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्य अनुरूप चालू आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्षका रूपमा कार्यसम्पादन भइरहेको बताए । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *