१० उपमहानगरको भागबन्डा सहमति नजिक, जनकपुरमा अड्को

काठमाडौँ । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो ।
दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने उनीसमेत पुगे । उनले आफ्नो सहभागीबिना दिउँसो भएको सहमति इन्कार गरेपछि थप विवाद भयो । गठबन्धन आबद्ध बैठकमा सहभागी एक नेताका अनुसार मंगलबार दिउसो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक/एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।
सहमतिअनुसार ११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको थियो । घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो ।
तर, जनकपुरमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न सकेन । बालुवाटारमा गए राति १ बजेसम्म छलफल चलेपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव थियो तर जनकपुरमा कांग्रेस र जसपाले दाबी गरे । कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी गरेको हो ।
दुवै दलले दाबी नछाडेपछि जनकपुर कसले लिने भन्नेमा सहमतिमा गठबन्धन पुग्न सकेको छैन । गठबन्धनमा सहमति हुन नसकेपछि आज बिहान ११ बजे फेरि जुट्ने गरी मंगलबारको बैठक सकिएको थियो ।








