गठबन्धनमा भागबण्डा : महानगर/उपमहानर कहाँ कसलाई ?

काठमाडाैँ । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबन्डा टुंगो लगाउन असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबन्डा नमिलेको हो ।

काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत भइसकेका छन् । वीरगन्ज र भरतपुर महानगरपालिका जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रलाई दिनेमा प्रमुख दलहरूबीच करिबकरिब सहमति जुटेको दाबी गर्दै बैठकमा सहभागी एक नेताले पोखरा महानगरपालिकाचाहिँ के गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । कांग्रेसले भरतपुर महानगरपालिकाको दाबी कायमै राखे पोखराको नेतृत्व माओेवादी केन्द्रलाई दिएर प्रतिनिधिसभा निर्वाचनमा माओेवादी केन्द्रलाई चितवनमा सहयोग गर्ने प्रस्ताव राखिएको छ । तर एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व दाबी गर्दै आएको छ ।

कांग्रेस नेता तथा सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि विभिन्न विकल्प र प्रस्तावहरूमा छलफल जारी रहेको बताए । ‘हामीले तालमेलका विषयमा छलफल गरेका छौं । तर निष्कर्षमा पुगेका छैनौं,’ मन्त्री कार्कीले भने, ‘निष्कर्षको नजिक पुगेका छौं। भोलि (मंगलबार) बिहान साढे ११ बजे फेरि बस्छौं र निर्णयमा पुग्छौं ।’

बैठकमा सत्ता गठबन्धनमा रहेका अन्य तीन दलले ११ उपमहानगरपालिकामध्ये कांग्रेसलाई पाँच दिने प्रस्ताव गरेका छन् । अन्य तीन दलले दुईदुई उपमहानगरपालिका लिने प्रस्ताव गरेका थिए। तर कांग्रेसले पाँच उपमहानगरपालिकामा चित्त नबुझाएको बैठकमा सहभागी एक नेताले बताए। ‘अधिकांश महानगर र उपमहानगरपालिकामा गठबन्धनभित्रका दलहरूबीच कांग्रेस नै ठुलो दल हो,’ उनले भने, ‘तर तालमेल गरेर जाने भनेपछि सबै उसले नेतृत्व पाउनुपर्छ र राख्नुपर्छ भन्ने जायज कुरा होइन ।’

सत्ता साझेदार दलहरूबीच लामो छलफल भएको जानकारी दिँदै माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सहमतिका लागि धेरै आधार तय भएको दाबी गरे । केही जटिलता र समस्या भए पनि दलहरू करिबकरिब सहमतिनजिक पुगेको तर निर्णय भने भइनसकेको उनले जानकारी दिए । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *