प्रचण्डकाे प्रष्टाेक्ति- ‘निर्वाचन वैशाख ३० मै हुन्छ’

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन नसर्ने प्रष्ट्याएका छन् । साेमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘चुनाव सर्दैन । चुनाव वैशाख ३० गते नै हुन्छ । यसमा ढुक्क रहनुस् ।’
यसबीचमा स्थानीय निर्वाचन सर्ने हल्ला चलेकाे थियाे । त्याेतर्फ इङ्गित गर्दै प्रचण्डले भनेका छन्, ‘हल्लाहरू चलाइएकाे छ । तर कुरा त्यसाे हाेइन । सत्तारुढ कुनै पनि दलहरू निर्वाचन सार्नेमा छैनन् । चुनाव पूर्वनिर्धारित समयमै हुन्छ ।’
चुनाव हुने दिनकाे बिहानसम्म पनि चुनाव सर्छ भनेर भन्ने चलन भएकाे प्रचण्डले स्मरण गराए । ‘यसअघिका चुनावहरूमा पनि यस्तै हल्लाहरू चलाइए । तर चुनाव भएकै छ । संविधानसभाकाे चुनावमा समेत यस्तै हुन्थ्याे । त्यसकारण हामी काेही पनि भ्रममा नपराैँ ।’








