विप्लवलाई प्रचण्ड-माधवले भने : चुनावअगावै बन्दीहरू रिहाइकाे वातावरण बनाउँछाैँ

काठमाडाैँ । सत्ता साझेदार दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीलाई चुनावअगावै बन्दीहरू रिहाइकाे वातावरण बनाउने आश्वासन दिएका छन् । आइतबार नेताहरूबीच भएकाे भेटमा नेताद्वय प्रचण्ड-माधवले यस्ताे आश्वासन दिएका हुन् ।

बिहान नेताहरूबीच तत्कालीन सरकारले गरेकाे तीनबुँदे सहमतिकाे बारेमा छलफल गरेका थिए । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगै केन्द्रीय सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्ताेला र हेमन्तप्रकाश वली थिए । वार्तामा प्रचण्ड-माधवसँगै एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल, श्रममन्त्री कृष्णकुमार श्रेष्ठलगायत उपस्थित थिए ।

वार्ताका क्रममा विप्लव समूहले तत्कालीन सरकारले आफूसँग गरेकाे तीनबुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेकाे थियाे । ०७७ फागुन २१ गते तत्कालीन सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएकाे थियाे । जहाँ, विप्लव समूहका नेताहरू बिनाशर्त रिहा हुनुपर्ने उल्लेख छ । साेहीबारे सरकारकाे ध्यानाकर्षण विप्लव समूहले गराएकाे थियाे । त्यसमा सत्तारुढ दलका नेताद्वय प्रचण्ड-माधवले चुनावअगावै बन्दीहरू रिहाइकाे वातावरण बनाउने आश्वासन दिएका हुन् । भेटमा सहभागी एक विप्लव नेताले भनेका छन्, ‘उहाँहरूले चुनावअगावै बन्दीहरूकाे रिहाइ हुने भन्नुभएकाे छ । याे हाम्राे लागि राम्राे हाे ।’

ती नेताकाअनुसार नेताहरूबीच आसन्न स्थानीय तहकाे निर्वाचनबारे पनि छलफल भएकाे थियाे । विप्लव समूहमा निर्वाचनमा जाने/नजानेबारे मत बाझिएकाे छ । महासचिव विप्लवसँगै प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावकाे पक्षमा छन् भने सचिवालय सदस्यद्वय बाँस्ताेला-वली चुनावकाे विपक्षमा छन् ।

यसअघि निर्वाचन आयाेग पुगेका प्रवक्ता प्रकाण्डले चुनावमा जाने बताएका छन् । यद्यपि उनीहरूले स्थानीय चुनावमा जानेगरी दल दर्ताकाे प्रक्रियामा भने भाग लिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *