दिपेन्द्रसिंह ऐरीको छलाङ

नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी विश्व क्रिकेट परिषद्ले हिजो सार्वजनिक गरेको टी–२० अलराउण्डरहरूको वरियताक्रमको शीर्ष १० भित्र पर्न सफल भएका छन् । गत महिना काठमाडौंमा सम्पन्न त्रिदेशीय टी–२० शृंखलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ दि सिरिज’ को उपाधि जित्न सफल भएका ऐरी १५२ रेटिङ प्वाइन्ट सहित विश्व वरियताको १०औँ स्थानमा पर्न सफल भएका हुन् ।
गत महिना सम्पन्न टी–२० सिरिजका पाँच खेलमा दुई अर्धशतक र एक शतकसहित ५० भन्दा माथिको औसतमा २५५ रन बनाएका ऐरीले बलिङतर्फ सात विकेटसमेत लिएका थिए । यही प्रदर्शनका आधारमा उनी ३८ औँ स्थानबाट २८ स्थान फड्को मार्दै शीर्ष १० भित्र अटाएका हुन् । पूरा प्रतियोगिताभरि उत्कृष्ट खेल प्रस्तुत गरेका ऐरीले सिरिजको फाइनलमा पीएनजी विरुद्ध गरेको प्रदर्शनका आधारमा उनी शीर्ष १० भित्र परेका आइसीसीले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।
यही शृंखलाको फाइनलमा अर्धशतक बनाउँदै दिपेन्द्रले टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यानको कीर्तिमान कायम गरेका थिए । दिपेन्द्रले ३९ टी–२० खेलमा ३९.७३ को औसत र १३३ भन्दा माथिको स्ट्राइकरेटमा १०५५ रन बनाइसकेका छन् ।
दुई महिनाअघि युएईमा सम्पन्न टी–२० विश्वकप छनौटमा समेत उत्कृष्ट प्रदर्शन गरेका ऐरीलाई आइसीसीले फरबरी महिनामा ‘प्लेयस अफ दी मन्थ’ को शीर्ष ३ मा मनोनयन गरेको थियो । दिपेन्द्र टी–२० को ब्याटिङ वरियताक्रमा समेत ५१ औँ स्थानमा पुग्न सफल भएका छन् ।
वरियताक्रममा नेपाल र नेपाली खेलाडी
आइसीसीले प्रत्येक महिना टेस्ट, एकदिवशीय र टी–२० को छुट्टाछुट्टै वरियताक्रम सार्वजनिक गर्ने गर्दछ । त्यसमा टिम र प्लेयरको अलग–अलग र्याङ्किङ हुने गर्छन । नेपाल टी–२० वरियताक्रमको बाह्रौं स्थानमा छ जुन नेपालले अहिलेसम्म हासिल गरेको सबैभन्दा माथिल्लो स्थान हो ।
त्यस्तै, दिपेन्द्रको अहिलेको सफलता पनि आइसीसीले जारी गर्ने कुनै पनि फर्म्याटको र्याङ्किङमा नेपाली खेलाडीले हात पारेको सबैभन्दा उच्च स्थान हो । यसअघि नेपाली टोलीका पूर्वकप्तान पारस शाह सन् २०१९ मा टी–२० अलराउण्डरको वरियताक्रमको २५औँ स्थानसम्म पुग्न सफल भएका थिए ।
नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आइसीसीको टी–२० विश्व वरियताक्रमको २९औँ स्थानमा उक्लन सफल भएका छन् । २०२१ को मार्च महिनामा ९३औँ स्थानसहित पहिलोपटक विश्व वरियताक्रमको शीर्ष सय ब्याट्सम्यानभित्र पर्न सफल भुर्तेलले त्यसयता आफ्नो स्थानमा लगातार सुधार गर्दै आएका छन् । पछिल्लो महिना ३१र्औ स्थानमा रहन सफल भुर्तेलले यसपटक दुई स्थान माथि उक्लन सफल भए ।
बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दिप लामिछाने पनि ५ स्थान सुधार गर्दै टी–२० वरियताक्रमको ३६औँ स्थानमा उक्लन सफल भए । त्यस्तै मिडियामा पेस बलर अविनाश बोहरा पनि वरियताको ८१ औँ स्थानमा उक्लन सफल भएका छन् ।
टी-२० र्याङ्किङमा ‘नन्टे-स्ट नेशन‘ को प्रभाव
आइसीसीले जारी गरेको टी–२० वरियताक्रममा टेस्ट नखेल्ने राष्ट्र र खेलाडीहरूको समेत दरिलो उपस्थिति रहेको देख्न सकिन्छ । टेस्ट खेल्ने राष्ट्र श्रीलंका र बंगलादेशलाई पछाडि पार्दै अफगानिस्तान टी–२० वरियताको आठौं स्थानमा रहेको छ । १२औँ स्थानमा रहेको नेपाल आइसीसीको एशोसिएट्स राष्ट्रहरूमध्ये सबैभन्दा अगाडि छ ।
टी–२० अलराउण्डरहरूको सूचीमा अफगानिस्तानका मोहम्मद नवी २७६ रेटिङ सहित पहिलो नम्ब रमा छन् भने दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन ९२३२० छन् । सूचीको शीर्ष दशमध्ये चौथो स्थानमा नामिबियाका जे जोनाथन स्मिथ, छैठौँमा युएईका रोहन मुस्तफा र आठौँ स्थानमा ओमानका जिसान मकसूद स्थान बनाउन सफल भएका छन् । शीर्ष २० भित्र पनि टेस्ट खेल्ने राष्ट्रका केवल ७ खेलाडीमात्र छन् । स्राेतः INS न्यूज








