प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गर्नुभयो : योगेश भट्टराई (भिडिओवार्ता)

काठमाडौँ । मुलुक स्थानीय तहको दोस्रो निर्वाचनउन्मुख छ । यसबीचमा राजनीतिक वृत्तमा केही नाटकीय परिवर्तन नभए अबको २८ दिनपछि अर्थात् २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले यसको तीव्र तयारी गरिरहेको छ । तर, निर्वाचन सार्ने हल्ला पनि चलिरहेकै छ । तर निर्वाचन कुनै पनि हालतमा सार्न नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अडान लिएका छन् ।

निर्वाचनमा नेकपा (एमाले) एकातिर छ भने पाँचदलीय सत्तारुढ गठबन्धन अर्कोतिर देखिएको छ । दलहरू आ-आफ्नो दाबी र अडानमै छन् । एमालेले एक्लै भएपनि ७० प्रतिशत मत ल्याएर बहुस्थानमा स्थानीय सरकार गठन गर्ने बताउँछ भने गठबन्धन एमालेलाई पत्तासाफ गर्ने दाबी गर्छ । तर, एमाले पत्तासाफ गर्ने बुता गठबन्धनसँग नभएकाे एमाले सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई बताउँछन् । अहिले पनि मुलुकमा एमालेकै पल्लाभारी रहेको सुनाउँदै उनले भने, ‘अहिले पनि यो देशमा एमालेकै पल्लाभारी छ । यहाँ एमालेबाहेक कुनै पनि दल आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने अवस्थामै छैनन् ।’

पाँचदलीय गठबन्धनले एमालेबाहेक कुनै पनि दल एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैनन् भन्ने कुराकाे पुष्टि गरेको जिकिर भट्टराईको छ । ‘अरुले त सकेनन् सकेनन्, दुःखको कुरा कांग्रेसले पनि सकेन । अरु त हाम्रो प्रतिस्पर्धी नै पनि होइन । अहिलेको सत्तारुढ गठबन्धनले यही पुष्टि गर्छ । एमाले मात्रै यस्ताे शक्ति हाे कि नेपालमा, जाे एक्लै चुनाव लड्न सक्छ ।’

एमालेप्रति जनताले विश्वास अथाह रहेको भट्टराईको दाबी छ, भन्छन्— ‘एमाले ०५१ सालदेखि अस्तिसम्ममा जबजब सत्तामा आयाे । उसले जनविश्वास कमायाे । अब फेरि जाला सत्तामा । तर, यसबीचमा एमालेले जत्तिपनि काम गर्‍याे, त्यसले उसलाई जनविश्वास कायम राख्न सहयोग गर्‍याे । सत्तामा मात्रै पनि गएन एमाले, काम पनि गर्‍याे । त्यसैले त एमालेसँग अहिले पनि जनविश्वास छ । मुलुकमा राजनीतिक स्थायित्व दिने कोसिस एमालेले गर्‍याे । समतामूलक र न्यायमूलक देश बनाउने कोसिस गर्‍याे । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम पनि एमालेले जत्ति अरुले गरेनन् । यी यावत् कारणहरूले गर्दाखेरि एमालेप्रति जनविश्वास छ ।’

जनविश्वास रहेकै कारण आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको पोल्टामा बहुमत आउने भट्टराईको आकलन छ । ‘एमाले कहिल्यै चीनकाे छातामा बसेन, भारत, अमेरिका कसैकाे छातामा नबसिकन जनताकाे काम गर्‍याे । यसकारण एमालेसँग जनविश्वास छ,’ भट्टराई भन्छन् ।

‘प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गर्नुभयाे’

लक्ष्य एकतिर राखेर व्यवहार अर्कोतिर गर्दाखेरि ‘समाजवाद’ सम्म नपुगिने जिकिर भट्टराईको छ । नेपालमा एमालेबाहेकका वामपन्थी शक्तिहरू आन्दाेलनबाट विचलित भएको उनी बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचना गर्दै भट्टराईले भने, ‘एकातिर लक्ष्य र अर्कोतिर व्यवहार हुँदा समस्या भएको हो । यसको पुष्टि पछिल्लो समय प्रचण्ड र माधवजीहरूले गर्नुभएकाे छ ।’

प्रचण्ड-माधवले समाजवाद भनेर कांग्रेससँग मिलेको उल्लेख गर्दै भट्टराईले थपे, ‘कांग्रेस भनेको त यथास्थितिवादी शक्ति हो । पूँजीवादी शक्ति हो । अनि कसरी उहाँहरू प्रगतिशील बन्नुहुन्छ ? कसरी समाजवादसम्मको यात्रा गर्नुहुन्छ ? प्रचण्डजीले व्यवस्था बदल्यौँ, अब अवस्था बदलौँ भनेर भन्नुभयो । तर, कांग्रेससँग मिल्नुभएको छ । अवस्था बदल्ने हो भने त प्रगतिशील शक्ति, वामपन्थी शक्तिसँग तालमेल गर्नुपर्ने होला नि त । तर, छैन । उहाँ कांग्रेससँग मिल्नुभएकाे छ । का‌ग्रेसले त आफैँले आफूलाई पश्चगामी र यथास्थितिवादी शक्ति भनेकाे छ ।’

माधव नेपालले पनि प्रचण्डले झैँ गरेकाे भट्टराई बताउँछन् ।  ‘उहाँले लक्ष्य समृद्धिको, यात्रा समाजवादको भन्नुभएको छ । यो नारा मिठो छ । म यसको सम्मान गर्छु । तर, कांग्रेससँग मिलेर कसरी समाजवादसम्म पुग्ने होला ? कांग्रेसले त आफैँलाई पश्चगामी भनेको छ । अनि कसरी हुन्छ ? यसरी अगाडि बढेपछि समाजवादसम्म पुगिन्छ कि पुगिन्न ?’

प्रचण्ड-माधवले आफ्नो स्वतन्त्रता कांग्रेसलाई बुझाइसकेको भट्टराईको टिप्पणी छ । यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गरेको उनी बताउँछन् । ‘आसन्न स्थानीय तहको निर्वाचनमा उहाँहरूले गठबन्धनमा रहेका दलबाहेक अन्य दलसँग तालमेल नगर्ने भनेर भन्नुभएको छ । यदि अब प्रचण्ड-माधवले एमालेसँग तालमेल गरे भनेपनि कांग्रेसले देउवाजीले स्पष्टीकरण सोध्नुहुन्छ । उहाँहरूले आफ्नो स्वतन्त्रता कांग्रेसलाई बुझाइसक्नुभयो, देउवाजीलाई बुझाइसक्नुभयो ।’

यसले कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गरेको भट्टराई बताउँछन् । ‘कमसेकम एमालेसँग त उहाँहरूको डीएनए मिल्थ्यो नि । कांग्रेससँग त के मिल्छ खै ? उहाँहरू आफूलाई प्रगतिशील शक्ति भन्नुहुन्छ, कांग्रेस यथास्थितिवादी शक्ति हो । फेरि अहिले सरकारमा देउवाजीलाई पछि लाएर सरकारको नेतृत्व गरेको भएपनि एउटा कुरा हुन्थ्यो, फेरि उहाँहरू देउवाजीकै पछि लाग्नुभएको छ । अनि अब उहाँहरूले आफ्नो स्वतन्त्रता देउवाजीलाई बुझाउनुभएन त ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गर्नुभएन त ?,’ भट्टराईको प्रश्न छ ।

‘गठबन्धन बालुवाको घर हो’

सत्तारुढ गठबन्धनमा दलहरू आपसमा डराइरहेको भट्टराईको दाबी छ । ‘एउटासँग अर्को त्रसित छ । यो सिमेन्ट, रड, इँटा लगाएर बनाएको घर होइन,’ भट्टराई भन्छन्, ‘यो भनेको बालुवाको घर हो ।’

कांग्रेसलाई आफूलाई माओवादी एकीकृत समाजवादीले भोट दिँदैनन्, यिनीहरूले एमालेलाई दिन्छन् भन्ने डर भएको उनी बताउँछन् । ‘फेरि माओवादीलाई हामीले छाडेको ठाउँमा कांग्रेसलाई भोट हाल्दैनन् भन्ने छ, कसलाई हाल्छन् एमालेलाई; किनकी हिजो ३ वर्ष त सँगै बसेका छाैँ हामीले । हामीले साइनाे लगाएका छाैँ । दाजु भनेका छाैँ । अब एकीकृत समाजवादीका साथीहरूले पनि कांग्रेसलाई भन्दा एमालेलाई दिउँ भन्ने सोच्छन्, माधवजीले पो देउवाजीलाई दिनुहुन्छ त । अरुले त एमालेलाई हाल्न सक्छन् त । यसरी गठबन्धनमा रहेका दलहरू एउटासँग अर्को त्रसितको अवस्थामा छ । यसले गठबन्धन बालुवाको घर सावित गरिदिन्छ ।’

‘वामएकता आवश्यक छ, एमालेको नेतृत्वमा यो हुन्छ’

एमालेभित्र घनश्याम भुसाल, रघुजी पन्तलगायतका नेताहरूले पुनः वामएकताकाे विषय उठाइरहेका छन् । भुसाल, पन्तलगायतका नेताहरूको भनाइ र विचार एमालेविरोधी नभएको भट्टराई स्वीकार्छन् । यसअघिको वामएकता कुनै पनि कोणबाट गलत नभएको उल्लेख गर्दै भट्टराई भन्छन्, ‘तर, त्यसपछि हामीले जे जे गर्नुपर्थ्यो । त्यसमा चुकियो । हामीले पहिल्यै वैचारिक, सैद्धान्तिक र राजनीतिक छलफल गरेर एकता गर्नुपर्थ्यो । तर, हामीले तत्काल चुनावमा जानुपर्ने भएकाले पनि त्यो काम पूरा गर्न सकेनौँ । यसपछि एकता कायम रहन सकेन ।’

चनावपछि गर्नुपर्ने काम पनि नहुँदा थप समस्या भएको भट्टराई बताउँछन् । ‘चुनावमा राम्रो जनमत पाएपछि सरकार बनाइयो । सत्तामा पुगेपछि हामीले वैचारिक छलफल गर्न बिर्स्यौँ । त्यसले हामीले यसरी फुटाइदियो । नेतृत्वमा दम्भ पलाउन थाल्यो । यसले एकता कायम रहेन ।

०७४ मा केपी शर्मा ओली र प्रचण्डले साहसिक निर्णय गरेको सुनाउँदै भट्टराई पुनः उनीहरूले यस्तै साहसिक निर्णय लिनुपर्ने बताउँछन् । ‘त्यसमा एकीकृत समाजवादी पनि आउनुपर्छ । यसो हुँदा मात्रै नेपालको कम्युनिष्ट आन्दोलन एकठाउँमा हुन्छ ।’

तर, अब भने हिजोको जस्तो मोडलमा वामएकता हुन नहुनेतर्फ भट्टराई सचेत गराउँछन्, भन्छन्— ‘हिजोको जस्तो मोडल अब फेल भइसक्यो । अब एकताको मोडल फेर्नुपर्छ । अब एमालेकै वरिपरि एकता हुनुपर्छ । अन्ततः प्रगतिशील शक्तिहरू फेरि एमालेकै वरिपरि गोलबद्ध हुने हुन् । उनीहरूलाई एमालेकाे चुम्बकीय शक्तिले तान्छ ।’

अहिले भने एमाले, माओवादी र एकीकृत समाजवादीबीच तालमेल वा एकता हुने वस्तुगत अवस्था नरहेको भट्टराईको भनाइ छ । ‘अहिले भने अवस्था बेग्लै छ । राजनीतिक उद्देश्य र लक्ष्य मिलेपनि हाम्रो राजनीति मिलेन, त्योकारण हामी छुट्यौँ । पछि त फेरि हुनसक्छ । १, २ वटा चुनावपछि त्यो हुनसक्छ ।’

भट्टराई माधवले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने दाबी गर्छन् । ‘ओलीका हजार गल्तीलाई इतिहासले क्षमा दिएपनि माधव नेपालजीको गल्तीलाई इतिहासले क्षमा दिने छैन,’ भट्टराईले भने, ‘किनकी ओलीजीले पार्टी फुटाउने दुस्साहस गर्नुभएन । दलमा रहँदाखेरि पार्टी फुटाउनु भनेको अपराध हो ।’

‘अर्थतन्त्र सही दिशामा ल्याउने काम एमालेले मात्रै गर्न सक्छ’

भट्टराई शेरबहादुर देउवा सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रमा गिरावट आएको बताउँछन् । ‘गत ९ महिनामा अर्थतन्त्रको हालत हेर्नुस् त, के भएको छ ? यसको जिम्मेवार मुख्यरूपमा प्रधानमन्त्री र अर्थमन्त्रीजी हो । तर, उहाँहरूले त्यस्तो केही होइन भनेर बस्नुभएको छ । अब यो अर्थतन्त्रलाई सही दिशामा ल्याउनका लागि एमालेकै सरकार बन्नुपर्छ ।’

कोरोनाभाइरसका कारण बन्दाबन्दी हुँदा पनि एमाले नेतृत्वको सरकारले अर्थतन्त्रलाई यथास्थितिमा राख्न सफल भएको उल्लेख गर्दै उनले भने, ‘अहिले त सरकार आफैँ काम गर्न सक्दैन, जान्दैन अनि अनि गभर्नरमाथि कारबाही गर्छ । यो पनि कहीँ हुँदो काम हो त ? पर्यटकहरू आएकै छन् । वित्तीय क्षेत्रमा हुने काम भइरहेकै छन् । तैपनि अर्थतन्त्रमा डामाडाेल छ । याे भनेकाे सरकारकाे अयाेग्यता हाे । यही ढाक्नचाहिँ गभर्नरमाथि कारबाही भयाे ।’

आफ्नो अयोग्यता लुकाउन सरकारले गभर्नरमाथि कारबाही गरेको उनी दाबी गर्छन् । ‘आफ्नो अकर्मन्यता लुकाउन सरकारले गभर्नरमाथि नै कारबाही गर्छ । आफैँले मुलुकको अर्थतन्त्रलाई अस्थिर बनाइदियो अनि कारबाहीचाहिँ गभर्नरमाथि गर्‍याे । यसरी गभर्नरलाई बलीको बोको बनाइयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.