कुलमान घिसिङलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो ।

 नेकपा माओवादी केन्द्रले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । माओवादीको चुनावी पोष्टरमा फोटो राखी प्रचारप्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले घिसिङलाई स्पष्टिकरण सोधेको हो ।

उनलाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ । ‘तपाईंको समेत फोटो राखी नेकपा(माओवादी केन्द्र)को चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति हो होइन ?उक्त पोस्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिक रूपमा किन आपत्ति जनाउनुभएको छैन वा उजुर गर्नुभएको छैन ?,’ आयोगले घिसिङलाई सोधेको छ ।

आचारसंहिता उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम कारबाही हुने छ । बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहितको चुनावी पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा लेखिएको ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *