सुर्खेतमा निर्वाचन लक्षित सुरक्षा गतिविधि बढाउँदै सुरक्षा निकाय

सुर्खेतमा २० मतदानस्थल ‘अति संवेदनशील’

सुर्खेत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै सुर्खेतमा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सुरक्षा निकायले सक्रियता बढाएका हुन् ।

जिल्लाभर रहने मतदान स्थल केन्द्रित रहेर मतदान स्थल सुरक्षा रणनीति तयार गर्न प्रशासन लागि परेको हो । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा आसन्न निर्वाचनमा मतदातालाई मतदान स्थलसम्म भएरहित वातावरणमा पुगी मतदानमा सरिक हुने वातावरण तयारमा प्रशासन जुटेको हो ।

जिल्लाभर रहने मतदान केन्द्रमा आवश्यक पर्ने सुरक्षा जनशक्तिको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । सुरक्षा दृष्टिकोणले अति संवेदनशील मानिएका क्षेत्रहरूमा आवश्यकताका आधारमा थप सुरक्षाकर्मी परिचालित गर्ने समितिले जनाएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयारमा समिति जुटेको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ ।

मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेर सोही अनुरूप सुरक्षा व्यवस्था मिलाउन लागेको समितिले जनाएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले एकसय ३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए ।

‘विगतका निर्वाचनमा भएका घटना, दलहरूको प्रतिष्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरेका छौैं,’ रिजालले भने, ‘स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइ नेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने छ ।’

प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित तीनवटै सुरक्षा सुरक्षा निकायका प्रमुखहरूको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकवेशी र भेरीगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ । यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना गरिने छ ।

निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणनास्थल निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अधिकांश मतगणनास्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा पनि छिटो जडान गर्न निर्देशन दिएका छौं ।’

२०७४ सालको निर्वाचनमा जस्तो यसपटक भुमिगत समूहको हिंसात्मक गतिविधि नहुने सुरक्षा निकायको विश्लेषण छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारीहरू भइरहेको बताए । मतदान र मतगणनास्थलमा खटिने कर्मचारीहरूको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीहरूको व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ मतदाता छन् । जिल्लाका एकसय ३८ स्थलमा गरी दुई सय ९१ मतदान केन्द्र छन् । त्यस्तै, सुर्खेत प्रहरीले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै एक हजार दुईसय म्यादी प्रहरी भर्ना गरी तालिम दिन शुरू गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *