‘घोकेको भन्दा देखेको सिकाइ दिगो’

काठमाडाैँ । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो ।

कार्यक्रमअन्तर्गत गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा भ्रमण गरिएको थियो । गण्डकीको कास्कीस्थित गण्डकी प्रदेश सङ्ग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा, नवलपरासीको शास्वत धाम, बागमतीको चितवनस्थित थारू सङ्ग्रहालय एवं सौराह पर्यटकीय क्षेत्र र लुम्बिनीको बुद्ध जन्मस्थल र मायादेवी मन्दिर भ्रमण अवलोकन गरिएको प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय सुर्खेतका निमित्त कार्यालय प्रमुख अर्जुनबहादुर शाहीले जानकारी दिए ।

मुलतः लक्षित समूहका विद्यार्थी तथा शिक्षकलाई भाषा, संस्कृति, ऐतिहासिक र पुरातात्विक क्षेत्रको व्यवहारिक ज्ञान दिलाउनुका साथै त्यसबाट प्राप्त अनुभव र शिक्षाको सहयोगमा कर्णाली प्रदेश सङ्ग्रहालयको विकास र प्रबर्द्धन गर्ने हेतुले शैक्षिक भ्रमण कार्यक्रम राखिएको उनले बताए । भ्रमण अवलोकनका लागि सङ्ग्रहालयको सदस्यता प्राप्त गरेका सुर्खेत उपत्यकाभित्रका कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थी र सामाजिक शिक्षक गरी ३६ र बाँकी अन्य क्षेत्रसहित ४५ जनाको सहभागिता रहेको थियो ।

“भ्रमणले बालबालिकामा सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक र भौगर्भिक पहिचानसँग जोडिएका विश्व सम्पदाका बारेमा समेत जानकारी गराएको छ”, प्रमुख शाहीले भने, “यहाँको सांस्कृतिक क्षेत्रको पहिचान तथा महत्व बोध गराउने उद्देश्यले गरिएको भ्रमण प्रतिफलमुखी भएको अनुभूति गरेका छौँ । यसले कर्णाली प्रदेश सरकारलाई प्रदेश सङ्ग्रहालयको विकासबाट आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरी अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।”

भम्रणमा सहभागी कोपिला मावि पर्सेनी सुर्खेतका शिक्षक श्यामबहादुर ओलीले भ्रमणका क्रममा भएको स्थलगत अध्ययन तथा अनुसन्धान बालबालिका र हामी शिक्षक सबैका लागि उपलब्धिमूलक रहेको बताए । “सङ्ग्रहालय शिक्षासम्बन्धीको शैक्षिक भ्रमणले नेपालका आदिवासी, जनजाति एवं मूलवासीको धर्म, संस्कार, संस्कृति र उनीहरूको तत्कालीन जीवनशैलीका बारेमा यथेष्ट जानकारी भएको छ”, उनले भने, “यो भ्रमणले सैद्धान्तिक शिक्षण प्रक्रियालाई व्यवहारमा उतार्न र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।”

शिव मावि लाटीकोइली सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्रा वसन्ती विकले किताबमा घोक्ने कुराभन्दा स्थलमै देखेको कुरा दीर्घकालीन हुने बताए । उनले भने, “यस्ता भ्रमण हामी विद्यार्थीका लागि निकै महत्वको हुँदोरहेछ भन्ने बुझियो ।” यतिबेला पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र नवलपुर (साविक नवलपरासी)को शास्वत धाम (सिजी टेम्पल) हेर्न पाउँदा त्यसबाट धेरै ज्ञान प्राप्त भएको उहाँको भनाइ थियो ।

भैरव मावि राम्रीकाँडा सुर्खेतका शिक्षिका निर्मला पराजुलीले प्रत्यक्ष गरिने गतिविधि सैद्धान्तिक अध्ययनभन्दा कैयन गुणामाथि हुने बताए । उनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले बृहत्तर ज्ञान दिलाएको र बालबालिका त्यसबाटै निकै प्रभावित जनाउनुभयो । घोकेको भन्दा देखेको सिकाइ दिगो हुने उहाँको भनाइ थियो ।

नेपाल राष्ट्रिय मावि वीरेन्द्रनगर सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्र रवि विकले सैद्धान्तिक ज्ञानले कुनै पनि पुस्तालाई शिक्षा लिन सहज नहुने प्रतिक्रिया दिए । “सूचना र प्रविधिको युगमा घोकन्ते शिक्षण सिकाइ होइन, युग सुहाउँदो प्रविधि अवलम्बन गर्न आवश्यक छ । भ्रमणबाट प्राप्त अनुभव हरेकका लागि लामो समयसम्म दिगो भइरहन्छ, जुन कुरा यो शैक्षिक भ्रमणले हामीलाई प्रष्ट्याएको छ”, उनले भने ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराका प्रतिनिधि सरिता कँडेलले यस सङ्ग्रहालयले सङ्कलन गरेका प्राचीन, धार्मिक, सांस्कृतिक, भौगर्भिक, पुरातात्विक, पर्यावरणीय र प्राकृतिक अध्ययनका लागि विशेषगरी विदेशी र स्वदेशी अनुसन्धानकर्ता आउने गरेको बताए । उनले भने, “सङ्ग्रहालयमा विश्वका सबै सम्पदाको प्रष्ट चित्र छ । यहाँ अध्ययनका लागि पुस्ताकालयको व्यवस्था पनि छ । यसको अध्ययन अवलोकनका लागि हरेकले एकपटक आउनुपर्दछ ।”

गण्डकी प्रदेश सङ्ग्रहालयका प्रमुख करुणा राईले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रसँग सम्बन्धित सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक पहिचानका बारेमा अन्तरप्रदेश जानकारी लिनु आवश्यक रहेको बताए । उनले भने, “यसले हामीबीचका सम्बन्ध र सहकार्यलाई बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि ल्याएर अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन सकिन्छ ।”

भ्रमण अवलोकनका क्रममा उक्त टोलीले पोखराको डेभिड फल्स, गुप्तेश्वर, फेवाताल, तनहुँमा भानुभक्त र घाँसी कुवालगायतका विभिन्न क्षेत्रको अवलोकन गरिएको सो अभिलेखालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *