पाँचदलीय गठबन्धनकाे अपिल- तपाईंकाे अमूल्य मत दिनुस्, व्यवस्था जाेगाउँछाैँ
स्थानीय निर्वाचन आवश्यकताअनुसार तालमेल गर्न आह्वान

काठमाडाैँ । सत्तारुढ पाँचदलीय गठबन्धनसम्बद्ध दलहरूले आसन्न स्थानीय निर्वाचनमा मिलेर हाेमिने निर्णय लिएका छन् । साेमबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले यस्ताे निर्णय लिँदै आपसमा सहयाेग गर्ने प्रणसहितकाे अपिलपत्र सार्वजनिक गरेकाे छ ।
अहिलेसम्मकाे परिवर्तन उल्टाउन खाेज्ने शक्तिविरुद्ध गठबन्धन नगरी नहुने अवस्था देखिएकाे भन्दै दलहरूले त्यसकाे प्रतिवादका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन् । ‘यही परिर्वतन विराेधी र प्रतिगामी दूराशयबाट देश र जनतालाई जाेगाउन पाँचदलीय गठबन्धन बनेकाे हाे,’ अपिलपत्रमा भनिएकाे छ, ‘पाँचदलकाे याे ऐक्यबद्धता नेपालमा लाेकतन्त्र र लाेकतन्त्रकाे मूल्यमान्यतामा आधारित समाजवादकाे रक्षा गर्दै नेपाल राष्ट्रकाे स्वाधीनता, नेपाली जनताकाे स्वतन्त्रता, र उन्नतीका लागि स्थानीय वासिन्दाहरूकाे कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्नेछाैँ ।’
यस्तै गठबन्धनले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता/कार्यकर्तालाई आहृवान गरेकाे छ । दलहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’









