भरतपुर महानगर : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रूपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ ।
यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिन्छन् । हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रूपमा पाउनुपर्ने भन्दै उनले हुनेखानेले सहज र सर्वसुलभ रूपमा शिक्षा र स्वास्थ्य पाउनुपर्ने बताए । उनले भने, ‘महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।’
२१औँ शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उनको भनाइ छ । रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताए । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीतिअनुसार महानगरमा काम गर्नुपर्ने बताउँछन् । वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उनले प्राथमिकतामा फोहरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय वृद्धिका लागि काम गर्नुपर्ने बताए ।
पोल्ट्री व्यवसायी उनले पोल्ट्रीको हबका रूपमा परिचित यहाँबाट फार्म विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नुपर्ने बताए । उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताउँछन् । सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उनको जोड छ । कृषि उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी भएको भन्दै उन त्यस अनुरूपको काम गर्नुपर्ने बताए । महानगरले प्रतिलिटर दूधमा रु तीन दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नुपर्ने उनले सुझाव दिए ।
ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उनले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताउँछन् । भरतपुर महानगरको विकासमा फरक ढङ्गले सोच्नुपर्ने व्यवसायी राजन गौतमकाे सुझाव छ । महानगर नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरू निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । -रासस









