लालबाबु भन्छन्- ‘विराटनगरमा अरुले जित्ने सम्भावना छैन, मै उठ्छु’

काठमाडाैँ । नेकपा (एमाले) नेता लालबाबु पण्डित संघीय मन्त्री भइसकेका व्यक्ति हुन् । उनी ०७४ फागुन ३ गते जनसंख्या तथा वातावरणमन्त्री बनेका थिए । त्यसपछि उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा समेत कार्यसम्पादन गरिसकेका छन् ।

सामान्य प्रशासनमन्त्री हुँदाखेरि नै डीभी पीआरप्राप्त राष्ट्रसेवक कर्मचारप्रति कसिलो नियम लगाएर लाेकप्रियता कमाएका नेता पण्डित अहिले भने विराटनगर महानगरपालिकाकाे मेयरमा उठ्ने चर्चा छ । यसपछि मकालुखबरले नेता पण्डितलाई ‘के तपाईं विराटनगरकाे मेयरमा उठ्दै हुनुहुन्छ ?’ भनेर जिज्ञासा राखेकाे थियाे । त्यसमा उनले जवाफ थियाे, ‘जहाँ रहेपनि जनताकै सेवामा जुट्ने हाे । जनताले भनिरहेका छन्, यस्ताे अवस्थामा म तयार अवस्थामा छु यहाँकाे मेयर बन्नका लागि । पार्टीले के गर्छ थाहा छैन ।’

उनी पार्टीले पनि आफैँलाई जिम्मा दिनेमा विश्वस्त छन्, भन्छन्— ‘पार्टी र जनता दुवैलाई मेरै जित चाहिएकाे हाे । यस्ताे अवस्थामा पार्टीले मलाई नै जिम्मेवारी दिन्छ भन्ने लाग्छ ।’ यस्ताेमा पार्टीले पनि आफैँलाई जिम्मेवारी सुम्पिओस् भन्ने चाहन्छन् उनी । ‘त्यसमा पार्टीले पनि विचार गर्नुपर्छ । म पार्टीकाे सिपाही हुँ, काम गर्दै आएकाे हुँ र गर्छु पनि ।’

कांग्रेसकाे बलियाे पकड क्षेत्र मानिने माेरङ ६ बाट निर्वाचित उनले नेपाली कांग्रेसकै नेता डा. शेखर काेइरालालाई ६७५ मतले पराजित गरेका थिए । यसपछि स‌ंघीय मन्त्री भइसकेका उनकाे माेरङमा दह्राे पकड रहेकाे बताइन्छ । सांसद भएर संघमा आएका उनले मन्त्रीत्व कालमा समेत त्यहाँका जनतालाई रिझाउन सकेकाे स्वयम् उनी नै दाबी गर्छन् । यही भएर पनि आफ्नै खाेजी विराटनगरमा हुन थालेकाे उनी बताउँछन् । ‘यहाँ [विराटनगर] अरुले जित्ने सम्भावना छैन । त्यसैले पनि जनताले मलाई नै खाेजेका छन् । त्यसैले पार्टीले दियाे भने म आफैँ अगाडि सर्छु,’ उनले भनेका छन् ।

संघमा मन्त्री भइसमेकाे नेता फेरि पालिकास्तरमा फर्किँदा शाेभनीय हाेला र ? भन्ने प्रश्नमा नेता पण्डितकाे भनाइ छ, ‘पालिका सरकार आफैँमा एउटा पूर्ण सरकार नै भन्दा पनि हुन्छ । याे आफैँ अधिकारसम्पन्न सरकार हाे । जहाँ जसरी काम गरेपनि अन्तत: जनतासँग जाेडिने हाे । याे भएर मन्त्री भइसकेकाे व्यक्ति मेयर बन्नुलाई सामान्य रूपमा लिनुपर्छ ।’

जनतासँग सबैभन्दा धेरै जाेडिने तह भनेकाे पालिका नै भएकाे उनकाे भनाइ छ । ‘संघमा मन्त्री हुँदा पनि केन्द्रमा राख्ने भनेकाे जनता, देश र प्राप्त उपलब्धिहरू नै हुन्,’ उनले भनेका छन्, ‘यसैले मलाई म मन्त्री भइसकेकाे व्यक्ति हुँ पनि भन्दिनँ, मलाई जनतासँग जाेडिन पाए खुसी लाग्छ ।’

एमाले विराटनगर महानगर कमिटीकाे सिफारिसमा भने नेता पण्डित परेका छैनन् । मेयरका लागि एमालेकाे सिफारिसमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पशुराम बस्नेत र महेश भट्टराई रहेका छन् । तर, नेता पण्डितले भने त्यहाँ कसैले नजित्ने बताउँछन् । उनी अझै आशावादी भने छन् ।

♦  याे पनि:
   एमालेबाहेकका वाम शक्तिसँग प्राण छैन, अस्थिपञ्जरसँग एकता हुँदैन : लालबाबु पण्डित [अन्तर्वार्ता]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *