एमालेबाहेकका वाम शक्तिसँग प्राण छैन, अस्थिपञ्जरसँग एकता हुँदैन : लालबाबु पण्डित

काठमाडौँ । दलहरू स्थानीय निर्वाचनमा केन्द्रित भएका छन् । उम्मेदवारको दावी गर्नेहरू सक्रिय बनेका छन् शीर्ष नेताहरू पार्टी प्रवेश लगायतका काममा व्यस्त देखिन्छन् । पदमा रहेकाहरू उद्घाटन र शिलान्यासमा केन्द्रित छन् । ‘राजनीतिक अवसर’ खोज्दै एउटा दल त्यागेर अर्को दलमा प्रवेश गर्ने नेता/कार्यकर्तालाई पनि भ्याइनभ्याइ देखिन्छ ।

दलका नेताहरूले आ–आफ्नो जितका दाबी झन् बढाएका छन् । उनीहरूले आफूले अर्कोलाई ‘पत्तासाफ’ पार्ने चुनौती दिइरहेका हुन्छन् । दलहरूले आन्तरिक रूपमा पनि चुनावी तयारीलाई तिव्रता दिएका छन् । उम्मेदवारका आधार तयार पार्नेदेखि घोषणापत्र लेख्नेसम्मका तयारीमा उनीहरू जुटेका छन् ।

नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डित आसन्न निर्वाचनहरूमा एमाले पहिलो शक्तिको रूपमा उदाउने दाबी गर्छन् । विगत १० वर्षमा पनि नभएको विकास निर्माण तत्कालिन नेकपाका र अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको ३ वर्षमा गरेको दाबी उनको छ । सुशासन, विकास र समृद्धिका सबै कुरामा ओली नेतृत्वको सरकारले अहिलेसम्म नभएका काम गरेको उनी दाबी गर्छन् ।

एमालेले नेतृत्व गरेको सरकारले चुच्चे नक्सा सार्वजनिक गरेर शताब्दीकै उत्कृष्ट काम गरेको उनी सुनाउँछन् । ‘कमरेड ओली प्रधान मन्त्री हुनुभएको बेलामा चुच्चे नक्सा आयो । यसले जनमानसमा राम्रो र राष्ट्रवादी दल एमाले नै हो भन्ने सन्देश गएको छ । यो भनेको शताब्दीकै राम्रो काम हो,’ उनले भनेका छन् ।

गठबन्धनको कुरा आफू जित्न भन्दा पनि एमालेलाई हराउन
नेता पण्डित एमालेको ध्यान गठबन्धनतिर नभएको बताउँछन् । एमाले पूर्णरूपले निर्वाचन केन्द्रित भइसकेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रो ध्यान भनेको जनतातिर छ । विकास, सुशासन र समृद्धि केन्द्रित भइसकेको छ । हामीले गरेको कामहरूको समीक्षा गरिरहेका छौँ । अब हाम्रो ध्यान गठबन्धनतिर छैन ।’

एमाले आफ्नो विपक्षमा रहेका दलहरूको ज्यादतीका विरुद्ध दह्रोगरी उभिने नेता पण्डितको भनाइ छ । ‘हाम्रो विरोधमा प्रतिद्वन्द्वीहरू जसरी आएपनि सामना गर्न तयार छौँ । एमालेका कुनै पनि नेताले गठबन्धन नभइकन हामी बाँच्दैनौँ, चाहियो भनेर भनेका छैनन् । अहिलेको गठबन्धन भनेको एमालेविरुद्ध बनेको हो । यसले आफू जित्नुभन्दा पनि एमाले हराउन बढी काम गरिरहेको छ ।’

गठबन्धनमा रहेका दलहरूमा दलगत स्वार्थ बढी हाबी भएको नेता पण्डित बताउँछन् । ‘केका लागि गठबन्धन ? यो प्रष्ट छ त ? छैन नि । आफ्नो दलको स्वार्थको लागि हो, आफ्नो स्वार्थका लागि हो । यसले संविधान, लोकतन्त्र र हरेक उपलब्धिहरूको रक्षा गर्दैन’ उनले भने ।

गठबन्धन गर्नु भनेको आफ्नो शक्ति समाप्त भएको घोषणा गर्नु हो
नेता पण्डित अहिलेको गठबन्धन ‘परजीवी’ जस्तो रहेको आरोप लगाउँछन् । गठबन्धन आफ्नो शक्तिमा विश्वास नगर्नेहरूको झण्ड रहेको उनको भनाइ छ । ‘अरुको शक्तिको भरमा बाँच्छु भन्ने हो यिनीहरूको दाउ । अझै विज्ञानको भाषामा भन्ने हो भने परजीवीजस्ता हुन् । परजीवी अरुको रगत नचुसिकन बाँँच्दैनन् । अरुको बुई नचढीकन बाँच्दैन । यस्तै हो अहिलेको गठबन्धन पनि,’ उनले भनेका छन् ।

तर, गठबन्धन आयु लामो नरहेको विश्लेषण उनको छ । ‘गठबन्धन घिटीघिटी छ, मर्न लागेको हो । रामराम भन्ने स्थितिमा छ । यसको अन्त्य कहिले हुन्छ थाहा छैन, तर यो चुनावसम्म पनि टिक्छ कि टिक्दैन थाहा छैन ।’

गठबन्धन सरकारले एमालेले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई निस्तेज पार्न खोजेको आरोप उनको छ । ‘एमालेलाई साथ दिने र माया गर्नेहरू अगाडि बढेका छन्, एमाले अगाडि बढेको छ । यो संविधानले अंगीकार गरेको समाजवादको बाटोमा अहिले त्यसको सारको रूपमा हामीले समृद्ध नेपाल, सुखी नेपालीलाई नाराको रूपमा लिएर अगाडि बढेका छौँ । यो नारालाई सफल हुन दिनु हुँदैन । यसरी जोडिएको छ, उखेल्नुपर्छ भनेर एमालेले ल्याएको नीतिहरूको विरोध गर्ने विचारहरूको नेतृत्व नेपाली कांग्रेसले गरेको छ र यसमा केही कम्युनिष्ट नामका दलहरूले साथ दिएका छन्,’ उनी भन्छन् ।

‘एमालेबाहेकका वाम दल अस्थिपञ्जर हुन्, प्राण नभएकाहरूसँग एमाले एकता गर्दैन’
एमालेकै घनश्याम भुसाल, रघुजी पन्तलगायतका नेताहरूले वाम एकताको बहस एमालेमा फेरि शुरु गरेका छन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अन्य नेताहरू भने यसको विपक्षमा छन् । वाम एकताको उपदेयता सकिएको भनेर उनीहरूको भनिरहेका छन् । नेता पण्डित पनि यही बताउँछन्, ‘एमालेबाहेक वाम शक्ति अस्थिपञ्जर हुन्,’ उनी भन्छन्,‘यिनीहरूमा प्राण नै छैन । केको वाम एकता हुनु । प्राणबिनाका सँग एमाले एकता गर्न तयार छैन ।’

स्थानीय चुनावभन्दा अघि वाम एकताको कुनै सम्भावना नरहेको नेता पण्डितको भनाइ छ । ‘स्थानीयस्तरमा समझदारीहरू बन्लान्, त्यो छुट्टै कुरा हो । तर, वाम एकता नै गरेरचाहिँ हुँदैन । सकिँदैन र त्यो सम्भव पनि छैन ।’

स्थानीय निर्वाचनपछि चाहिँ सम्भव छ ? भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘त्यसबेलाको हैसियत हेरौँ दलहरूको । कतिपय दलहरूलाई यो चुनावले आफ्नो हैसियत देखाउँछ । त्यसपछि हेरौँला नि । त्यसबेलाको हैसियतले देखाउला । स्थानीय निर्वाचनपछि पनि कसरी हुन्छ भन्नु ?’ तर, भविष्यमा हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ ।

नेपालका वाम शक्तिहरूलाई ‘अस्थिपञ्जर’कोसंज्ञा दिँदै उनले थपेका छन्, ‘अस्थिपञ्जरहरू हल्लिरहेका हुन्छन् । अस्थिपञ्जरहरू हल्लिराख्ने छन् । प्राण भए न एकताको कुरा हुन्छ । अस्थिपञ्जहरूसँग कोही एकता गर्छ ? प्राण भएका पार्टीहरूसँग गर्छ । भविष्यमा गर्दैनौँ भनेर भन्दिनँ म । हामी एकता विरोधी होइनौँ । तत्काल एकताको सम्भावना छैन । स्थानीय तहमै चाहिँ समझदारीहरू हुनसक्छन् ।’

एमालेबाहेकका वाम शक्तिहरू ‘मुर्दा’जस्तै भएको उनको टिप्पणी छ, भन्छन्— ‘मुर्दासँग वाम एकता कहाँबाट हुन्छ ? एकता हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *