युक्रेन र रुसका छिमेकी श्रम गन्तव्यमा नयाँ नियम

काठमाडाैँ । सरकारले युक्रेन र रसियाका छिमेकीका रुपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रमस्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभा र बेलारुसमा नयाँ नियम लागू गरेको हो ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिषामा गएका एवं व्यक्तिगत श्रमस्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरु अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जान दिइने श्रमस्वीकृतिलाई व्यवस्थित गरिएको जनाएको छ । वैशाख १ गतेदेखि लागू हुने गरी ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति लिनु पर्नेछ ।

वैदेशिक रोजगार विभाग ताहाचलका सूचना अधिकृत हरिराम नागिलाले हाल व्यक्तिगत श्रमस्वीकृतिका लागि साउदी अरेविया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सका लागि यो नियम लागू रहेकोमा अब क्रोएसिया, अल्बानिया, पोल्याण्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसका लागि पनि नयाँ नियम लागू गरिएको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैत २१ गते व्यक्तिगत श्रमको लागि जाने सबैले श्रमस्वीकृति लिँदा तोकिए बमोजिमको स्वघोषणा–पत्र अनिवार्य रुपमा भर्नुपर्ने निर्णय गरेको थियो ।

व्यक्तिगत श्रमस्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रमस्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका २०६९ बमोजिम प्रमाणीकरणका लागि नेपाली राजदूतावास वा नियोगमा तोकिएका ६ प्रकारका कागजात पेश गर्नु पर्नेछ । राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी भएको प्रवेशाज्ञाको प्रतिलिपि, रोजगारका सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि, रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गरेर दूतावासबाट मागपत्र प्रमाणित गर्नुपर्ने जनाइएको छ । व्यक्तिगत श्रमस्वीकृतिमा वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत अंग्रेजी भाषामा अनुवाद गरिएका कागजात संलग्न गरी दूतावाससमक्ष प्रमाणिकरणका लागि निवेदन दिनु पर्नेछ ।

युक्रेन र रसियासहित देशका छिमेकी श्रम गन्तव्य रोमानिया, पोल्याण्ड तथा हंगेरी लगायतका देशमा विगत ३ वर्षमा व्यक्तिगत श्रमस्वीकृति लिएर गएको नेपालीको संंख्या ३ हजार रहेको छ । यसैगरी संस्थागत श्रमस्वीकृतिसहित यो संख्या ८ हजार रहेको विभागको तथ्यांकमा उल्लेख छ । दुई देशबीच तनाव बढ्दै गए अन्य देशमा समेत असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन मन्त्रालयले नयाँ नियम बनाएको हो ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले सूचना जारी गर्दै वैशाख १ गतेबाट यो नियम लागू हुने जनाएका छन् । विगत ३ वर्षयता वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर गएका ८ हजारमध्ये रोमानियामा १ हजार ३८६, पोल्याण्डमा १ हजार २४५, हंगेरीमा १३३ र अल्बानियमा २१ नेपाली व्यक्तिगत श्रमस्वीकृति लिएर गएकोे देखिन्छ । तीमध्ये कति स्वदेश फर्किए भन्नेबारे भने विभागसँग तथ्यांक छैन । –कारोबार दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =