अर्थतन्त्र बजारमा हल्ला फैलिएजस्तो धराशायी छैन : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताइन् ।

आज (शनिबार) काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको १२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताइन् ।

उनले भनिन्, ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’

मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबिचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाई थियो ।

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष सरोज कुमार रेग्मीले बैङ्क तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरिन् । उनले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमा समेत जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *