बार निर्वाचन : सत्ता गठबन्धनको ‘क्लिन स्वीप’

काठमाडाैँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूकाे प्यानलले ‘क्लिन स्वीप’ गरेकाे छ । अध्यक्षमा गठबन्धनसमर्थित कानून व्यवसायीको तर्फबाट गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । उनले ४ हजार ४ सय ७४ पाएका थिए । उनले निकटतम प्रतिस्पर्धी एमालेनिकट कानून व्यवसायी विष्णुमणि अधिकारीलाई हराएका हुन् । अधिकारीकाे पक्षमा २ हजार ९ सय ८९ मत मात्रै खसेकाे थियाे ।
यस्तै महासचिवमा गठबन्धनसमर्थित कानून व्यवसायीकै उम्मेदावर अञ्जिता खनाल निर्वाचित भएकी छन् । उनकाे पक्षमा ३ हजार ६ सय ८२ मत खसेकाे छ । उनले केदार काेइरालालाई १ हजार ३ सय ३७ मतले पराजित गरिन् । काेइरालाले २ हजार ३ सय ४५ मत मात्रै पाए ।
उपाध्यक्षहरूमा गठबन्धनका दलहरूनिकट कानून व्यवसायीकै सुरज खत्री, सुधीर कर्ण, हर्क रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । यस्तै कोषाध्यक्षमा भरत रावत विजयी भएका छन् ।
सदस्यहरूमा [समावेशी] मा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रूप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा विजयी भएका छन् । यसैगरी खुला सदस्यहरूमा भरत लकाइ, देवी कोइराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भए ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमिति रहन्छ । यसका लागि ९ हजार ७ सय ८ जना अधिवक्ता मतदाताले मतदान गरेका थिए ।








