राप्रपाले आज खुलामञ्चमा आमसभा गर्दै, को-को छन् वक्ता ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँको खुलामञ्चमा आमसभा गर्दैछ । विभिन्न जिल्लामा स्थानीय निर्वाचन लक्षित सभा गरिसकेको राप्रपाले आज काठमाडौँमा आमसभा गर्न लागेको हो ।
महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाले देशका विभिन्न ठाउँमा सभाहरू गरेको थियो । राप्रपाले झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, स्याङ्जा, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको छ ।
चुनावी प्रचारलगायतमा केन्द्रित रहेको सभा वैशाख ९ गतेसम्म चल्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाको नेतृत्व परिवर्तनपछि जनताको आशा, विश्वास र भरोसा पनि बढेको उनको दाबी छ ।
आजको आमसभालाई अध्यक्ष लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षहरु पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने उनले बताए । जनता परिवर्तनको पक्षमा उभिएकोले आमसभा सफल हुने राप्रपाको आकलन छ ।








