राणाशासन र राजतन्त्रजस्तै यो संसदीय व्यवस्था पनि उल्टाउँछौँ : धर्मेन्द्र बाँस्तोला (भिडिओसहित)

काठमाडौँ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट ०७१ मंसिरमा छुट्टिएको नेपाल कम्युनिष्ट पार्टीको पहिलो एजेण्डा हो— जनमत संग्रह । १० वर्षे माओवादी सशस्त्र विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेतामध्येका एक नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको यो पार्टीले वर्तमान संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्नुपर्ने माग उठाउँदै आएको छ ।

यो संसदीय व्यवस्थाको विकल्पको खोजी हुनैपर्छ ।

भर्खरै कपिलवस्तुमा सम्पन्न पार्टीको १२ पूर्ण बैठकले पनि यही विषयलाई आफ्नो पहिलो र प्रमुख एजेण्डाको रूपमा स्थापित गरेको स्थायी समिति सदस्य धमेन्द्र बाँस्तोला बताउँछन् । बाँस्तोलाले मकालुखबरसँग भने– ‘हाम्रो पार्टीको पहिलो एजेण्डा भनेकै जनमत संग्रह हो ।’

विध्वंसात्मक गतिविधिको पृष्ठभूमि भएको यो पार्टीले अब भने त्यो बाटो त्यागिसकेको नेताहरू बताउँछन् । विध्वंसात्मक गतिविधि गरेकै कारण केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले यो पार्टीलाई प्रतिबन्धसमेत लगाएको थियो । झन्डै दुई वर्ष प्रतिबन्ध झेलेको यो पार्टीलाई पुन: ओली नेतृत्वकै सरकारले ०७७ फागुन २१ गते प्रतिबन्ध फुकुवा गर्दै मूलधारको राजनीतिमा समाहित गरायो ।

प्रतिबन्ध फुकुवा भएसँगै आफूहरूले विध्वंसात्मक बाटो त्यागेको फरक ठाउँमा भिन्न विप्लव नेताहरूले बताउने गरेका छन् । नेता बाँस्तोला थप्छन्, ‘हतियारको एउटा युग थियो, अब क्रान्ति गर्न हतियार नै उठाउनुपर्छ भन्ने छैन ।’

‘जनमत संग्रह एकदिन भएरै छाड्छ’

०७१ मा मोहन वैद्य ‘किरण’ ले पनि नेपाली समाजका लागि आवश्यक ‘क्रान्तिकारिता देखाउन नसकेको’ भन्दै छुट्टिएका विप्लवलगायतका नेता रहेको यो पार्टीले अहिले ‘जनमत संग्रह’ नै पहिलो शर्त भएको दाेहाेर्‍याउँदै आएको छ ।

जनमत संग्रह एकदिन भएरै छाड्ने उनीहरूको दाबी छ । नेता बाँस्तोला आफ्नो पार्टीले यसको तयारी गरिरहेको बताउँछन् । ‘अहिलेको संसदीय व्यवस्थासँग जनता वाक्क छन्,’ नेता बाँस्तोलाले भने, ‘हामीले उनीहरू (जनताहरू) लाई यसैगरी स्कूलीङ्ग पनि गरिरहेका छौँ । एकदिन जनमत संग्रह भएरै छोड्छ । एकदिन जनताहरू सडकमा आएरै छाड्छन् ।’

त्यसो त यसपटक विप्लव आफैँले पूर्ण बैठकमा आसन्न निर्वाचनमा होमिनुपर्ने प्रस्ताव ल्याएका थिए । तर, केन्द्रीय समिति सदस्यहरूमा मतैक्य नहुँदा त्यो प्रस्ताव एजेण्डाका रूपमा भने अघि बढेन । जनमत संग्रहको चुनावको माग गर्ने तपाईंहरूले किन सत्ताको चुनावमा भाग लिने बहस सिर्जना गर्नुभयो, किन महासचिवले प्रस्ताव ल्याउनुभयो (?) भन्ने प्रश्नमा नेता बाँस्तोलाले भने— ‘विश्व कम्युनिष्ट आन्दोलन हेर्दा पनि कम्युनिष्टहरू पटक-पटक चुनावमा गएका छन् । कतिपटक हारे, कतिपटक जिते । तर, उनीहरू आफ्नो जिम्मेवारीबाट विमुख भएनन् । हामीले पनि सिर्फ बहस गरेको हौँ । जाने नै भन्ने होइन ।’

विप्लवको त्यो प्रस्तावको पक्षमा स्थायी समिति सदस्यसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ मात्रै थिए । ५ सदस्यीय स्थायी समितिमा नेता बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ विपक्षमा थिए भने अर्का स्थायी समिति सदस्य सन्तोष बूढामगर भने तटस्थ रहेका थिए ।

नेता बाँस्तोला त्यो एउटा बहस मात्रै भएको बताउँछन् । तर, आफ्नो पार्टीको मुख्य कार्यनीतिक योजना जनमत संग्रह नै भएको जिकिर गर्छन् उनी । ‘हाम्रो राजनीतिक र कार्यनीतिक योजना भनेको जनमत संग्रह नै हो र यो एकदिन भएरै छाड्छ ।’

‘राणाशासन र राजतन्त्रजस्तै अहिलेको संसदीय व्यवस्था उल्टाउँछौँ’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको संसदीय व्यवस्थालाई ‘दलाल पूँजीवादी व्यवस्था’ भनेर भन्छन् । यो व्यवस्थाले कम्युनिष्टहरूले भन्ने गरेको ‘समाजवाद’ नआउने उनीहरूको जिकिर रहने गरेको छ ।

जनताले आफैँले रोजेको व्यवस्थाबाट मात्रै समाजवादसम्मको यात्रा गर्न सकिने नेता बाँस्तोला पनि बताउँछन् । आफ्नो पार्टीको लाइन त्यही भएको सुनाउँदै उनले भनेका छन्, ‘जनता समृद्ध नबनिकन मुलुक समृद्ध बन्दैन, त्यसैले एकपटक जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ भनेका छौँ हामीले । जनताले रोजेको व्यवस्थामै टेकेर राजनीतिज्ञहरूले जनसेवा गर्नुपर्छ । त्यसपछि मात्रै हामीले भन्ने गरेको समाजवादसम्म पुग्न सकिन्छ ।’

वर्तमान संसदीय व्यवस्थाको विकल्पको खोजी अनिवार्यजस्तै बनेको नेता बाँस्तोला बताउँछन् । ‘यो व्यवस्थाको विकल्पको खोजी हुनैपर्छ, जनता यही चाहन्छन्,’ उनले भने ।

यो व्यवस्था आफूहरूकै नेतृत्वमा फेरिने नेता बाँस्तोलाको भनाइ छ । पार्टी नेतृत्व पङ्क्तिमा पनि यहीअनुसार गृहकार्य भइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘राजनीतिक परिवर्तन सम्भव छ र प्रायः परिवर्तनहरूमा आफूलाई समाहित गर्दै ल्याएका छौँ । अब यो दलाल पूँजीवादी व्यवस्थाको पनि हाम्रै नेतृत्वमा परिवर्तन सम्भव रहन्छ । हामी यसलाई हिजोको राणाशासन र राजतन्त्रजस्तै उखेल्छौँ, निमिट्यान्न पार्छौँ ।’ अहिलेको संसदीय व्यवस्थासँग जनताहरू रिसिएको र यसैलाई आफूहरूले मूल शक्तिकाे आधार बनाउने नेता बाँस्तोला बताउँछन् ।

शीर्ष नेताहरू नै संसदीय व्यवस्थाको विपक्षमा रहेको दाबी

नेता बाँस्तोला यो संसदीय व्यवस्थाप्रति कोही नेता सन्तुष्ट नरहेको दाबी गर्छन् । त्यसको पुष्टि आफूहरूले नेताहरूलाई भेट्दा थाहा भएको उनको जिकिर छ । ०७७ फागुन २१ गतेको फुकुवापछि आफूहरूले एकसर्को शीर्ष नेताहरूसँग भेटघाट गरेको र त्यसमा नेताहरूले वर्तमान संसदीय व्यवस्थामाथि सन्तुष्ट नरहेको कुरा बताएको नेता बाँस्तोला सुनाउँछन् ।

केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू कोही पनि अहिलेको संसदीय व्यवस्थासँग सन्तुष्ट नरहेको उनको भनाइ छ । ‘मैले ज-जसको नाम लिएँ, उहाँहरू अहिलेको संसदीय व्यवस्थाप्रति सन्तुष्ट हुनुहुन्न’ उनले भने ।

बरु शीर्ष कम्युनिष्ट नेताहरूले आफूहरूलाई रोडम्याप लिएर आउन र अगुवाइ गर्न भनेर सल्लाह दिएको उनी बताउँछन् । ‘उहाँहरूले हामी पनि सन्तुष्ट छैनौँ भन्नुभएको छ, त्यसैले पनि अहिलेको यो व्यवस्था फेरिनुपर्छ भनेर हामीले भनेका हौँ । अहिलेको यो व्यवस्था भनेको त पैसाको खेल हो, संसद्हरू किनबेच हुन ठाउँ हो । यो नेपालले सक्ने विषय होइन,’ उनको भनाइ छ ।

सबै शीर्ष नेताहरू यसको विपक्षमा भए किन फेरिएन त अहिलेसम्म ? भन्ने जिज्ञासामा नेता बाँस्तोला भन्छन्, ‘त्यसका लागि वातावरण बन्नुपर्छ, समय आउनुपर्छ । एकैचोटी परिवर्तन भन्ने कुरा हुँदैन । विश्व कम्युनिष्टबाट हामीले यही सिक्नुपर्छ ।’

घोषणापत्र हेरेर स्थानीय चुनावमा समर्थन गर्ने

वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचनलाई नेपाल कम्युनिष्ट पार्टीले पार्टीले बहिष्कार नगर्ने भएको छ । तर, निर्वाचनमा भाग भने नलिने नीतिगत निर्णय गरेको पार्टीले जनाएको छ । आफूले भाग नलिएपनि उम्मेदवारहरूको राजनीतिक आचरण र घोषणापत्र हेरेर समर्थन गर्ने नेता बाँस्तोलाले बताए । त्यसमा पनि एमसीसीको विपक्षमा उभिने, जनमत संग्रहको माग गर्ने र वैज्ञानिक समाजवादको खोजी गर्नेलगायतका उम्मेदवारहरूलाई आफ्नो पार्टीले समर्थन गर्ने नेता बाँस्तोला बताउँछन् । ‘हामीले चुनाव पूरै बहिष्कार गर्दैनौँ,’ उनले भने, ‘हामीले जनपक्षीय उम्मेदवारहरूलाई समर्थन गर्छौँ ।’

अन्य पार्टीबाटै उम्मेदवार बनेर घोषणापत्र राम्रो छ भने पनि त्यस्तो उम्मेदवारलाई आफूहरूले सघाउने नेता बाँस्तोलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *