इंग्लिस प्रिमियर लिगको उपाधि होड उत्कर्षमा

प्रिमियर लिग उपाधिका लागि दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल बिच चलिरहेको प्रतिश्पर्धा उत्कर्षमा छ । प्रिमियर लिगमा ३० राउण्डको खेलको समाप्तीमा सिटी ७३ अंक सहित पहिलो स्थानमा छ भने मात्र १ कम अंक सहित लिभरपुल दोस्रो स्थानमा छ । उपाधिको दौडमा अन्य कुनै क्लब यी दुई टोलीको आसपाससम्म देखापरेका छैनन् र त्यसको कुनै सम्भावना पनि छैन । २०१७–१८ को सिजनपछि प्रिमियर लिगमा कसैको वर्चश्व छ त केबल यी दुई टोलीको मात्र छ ।

ब्यस्त तालिकाका बिच यी दुई टोली आगामी आइतवार प्रिमियर लिगको खेलमा आपसमा भिड्दैछन् । लिग उपाधिसम्म पुग्न अझ लामै यात्रा पार गर्नुपर्ने भए पनि उपाधि जित्नका लागि सो खेल निर्णायक साबित हुनसक्ने कुरामा भने दुवै टोलीका प्रशिक्षकलाई कुनै द्वविधा छैन ।

अप्रिल १० मा लिभरपुलले सिटीको होम ग्राउण्ड इत्तेहाद स्टेडियममा गएर खेल्दैछ । घरेलू मैदानमा खेल्दा केही फाइदा पुग्नसक्ने भए पनि लिभरपुलजस्तो प्रतिद्वन्द्विका अगाडि त्यस्ता तर्कहरूले कुनै अर्थ नराख्ने सिटीका कोच पेप ग्वार्डिओलाको स्पष्ट धारणा छ ।

ग्वार्डिओलाको टोली आइतबार जसरी पनि लिभरपुलविरुद्ध जित्ने, नसके कम्तीमा पनि उसलाई बराबरीमा रोक्न बलियो रणनीति बनाएर मैदान प्रवेश गर्नेछ । लिभरपुलविरुद्धको खेल जितिहाले पनि बाँकी सातैवटा खेल जित्नसके मात्र प्रिमियर लिगको उपाधि सिटीको हुन सक्छ भनेर ग्वार्डिओलाले बारम्बार आफ्ना खेलाडीलाई भनेका छन् ।

यता लिभरपुलको लक्ष्य त्यो खेलमा जसरी पनि ३ अंक हात पार्नु रहेको प्रशिक्षक क्लोपले स्पष्ट पारेका छन् । प्रिमियर लिग जित्ने हो भने सिटिलाई हराउनुको विकल्प नरहेको क्लोपले आफ्ना खेलाडीलाई बताएका छन् । यी दुई टोली बिचको सिजनको पहिलो खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो ।

यो खेल अघि दुवै टोलीले मंगलवार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत आ–आफ्नो खेल खेल्दैछन् । पहिलो लेगको खेलमा लिभरपुलले बेनफिका भ्रमण गर्नेछ भने सिटीले एट्लेटिकोको सामना गर्नेछ । दोस्रो लेगका खेलहरू अप्रिल १४ मा हुनेछन् ।

त्यसको दुई दिनपछि अप्रिल १६ मा लण्डनको वेम्बले स्टेडियममा यी दुई टोली फेरि एकपटक आमने–सामने हुनेछन्, एफए कपको सेमिफाइनल खेल्नका लागि ।

छोटो समयमा लगातार रूपमा महत्वपूर्ण खेलहरू खेल्नुपर्ने हुनाले यी दुवै टिमलाई खेलाडी संयोजन गर्ने कुरामा समस्या पर्न सक्छ । तर प्रिमियर लिगको सो खेलमा दुवै टोलीले आफ्ना उत्कृष्ट खेलाडीहरू नै मैदानमा उतार्ने विश्लेषण गरिएको छ ।

दुवै टोलीले यो सिजन प्रिमियर लिगमा र अन्य प्रतियोगिताहरूमा समेत गरेको प्रदर्शनलाई हेर्ने हो भने आइतवारको खेलमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न गाह्रो हुन्छ । दुवै टोली अहिले उत्कृष्ट लयमा छन् ।

प्रिमियर लिगको शीर्ष गोलकर्तामा लिभरपुलका मोहमद सलाह २० गोलसहित अग्रस्थानमा, १४ गोलसहित डिएगो जोटा दोस्रो स्थानमा र १२ गोलसहित साडियो माने तेस्रो स्थानमा छन् । त्यस्तै जारी सिजनमा धेरै असिस्ट प्रदान गर्ने खेलाडीको शीर्ष तीन स्थानमा पनि लिभरपुलकै खेलाडीको वर्चश्व छ ।

जारी सिजन प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने क्लब पनि लिभरपुल नै हो । उसले ३० खेलमा ७७ गोल गरिसकेको छ भने सिटी ७० गोल गर्न सफल भएको छ । गोलअन्तरमा पनि सिटीभन्दा लिभरपुल केही अगाडि छ । त्यसैले लिभरपुलले सिटीलाई कडा चुनौति दिने अनुमान गर्न गाह्रो छैन ।

यता साविक विजेता म्यानचेस्टर सिटी पछिल्लो पाँच वर्षमा चौथोपटक प्रिमियर लिगको उपाधि आफ्नो नाम गराउने धूनमा छ र त्यसका लागि पेप ग्वार्डिओलाको टोली पूर्ण रूपमा सक्षम पनि छ । अवुधावीको शाही परिवारको लगानी रहेको क्लबमा पैसाको कुनै दुःख नभएका कारण क्लबले एक–से–एक खेलाडी भित्र्याएर जम्मा पारेर राखेको छ । यो प्रिमियर लिगमा मात्र सिटीका १६ फरक–फरक खेलाडीले गोल गरिसकेका छन् ।

सिटीविरुद्धलका लिभरपु मोहमद सलाह, साडियो माने, गोलकिपर एलिसन बेकर अनि डिफेन्डर भर्जिल भान डाइकको खेल महत्वपूर्ण हुनसक्नेछ । त्यस्तै सिटीको ड्रेसिङरुम केभिन डिर्बुएना, रहिम स्टर्लिंङ, रियाद महरेज, फिल फोडेन, बर्नार्डो सिल्भा, ग्राबियल जिसस, इके गुन्डोगान, ज्याक ग्रिलिश, इडेरसन आदि थुप्रै स्टार खेलाडीहरूले भरिएको छ जसले कुनै पनि बेला गोल गरेर खेलको नतिजा नै बदल्न सक्ने क्षमता राख्छन् ।

सिटी र लिभरपुल बिचको लिग उपाधिका लागि निर्णायक बन्न सक्ने यो खेल निकै रोमाञ्चक हुने विश्वास गरिएको छ । प्रिमियर लिगको यो सिजनको सबैभन्दा महत्वपूर्ण खेलमा सबैको नजर रहनेछ । स्राेतः INS न्युज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *