ओलीकाे कटाक्ष- कानूनका ९ सिङमध्ये काेखाकाे सिङले हानेपछि अहिलेकाे सरकार जन्मियाे

विरगञ्ज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अवैध भएकाे टिप्पणी गरेका छन् । मंगलबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न विरगञ्ज आएका ओलीले यस्ताे बताएका हुन् । ‘अहिलेकाे सरकार गलत ढङ्गले जन्मिएकाे हाे,’ उनले भने, ‘याे जनताले बनाएकाे सरकार हाेइन, जनताले बनाएकाे सरकारलाई हटाएर अदालतले बनाएकाे परमादेशी सरकार हाे । याे कृतिम ढङ्गले बनाइएकाे हाे । यसकाे हैसियत भनेकाे केही पनि हाेइन । गर्ने पनि केही हाेइन र छैन पनि ।’
अँध्यारा कुनाहरूमा षड्यन्त्र गरेर अहिलेकाे सरकार बनाइएकाे टिप्पणी ओलीकाे छ । ‘अँध्यारा कुराहरूमा षड्यन्त्र गरेर अहिलेकाे सरकार बनाइएकाे हाे । कानूनका ९ सिङ हुन्छन् भन्छन्; ती ९ सिङमध्ये पनि काेखाकाे सिङले हानेपछि याे सरकार जन्मिएकाे हाे । यसरी दुनियाँमा कहीँ पनि सरकार बनेकाे छैन ।’
यस्तै उनले एमाले प्रवेश गर्नेहरूकाे लहर देखेर गठबन्धनसम्बद्ध दलहरू तर्सिरहेकाे बताए । ‘एमाले प्रवेश गर्नहरूकाे लहर देखेरै दलहरू अहिले तर्सिरहेका छन्, अब यसकाे परिणाम वैशाख ३० मा देखिन्छ,’ उनले भने ।
ओलीले वैशाख ३० गते एमालेले देशकाे अधिकांश पालिकाहरूमा जित हासिल गर्ने दाबी गरे । ‘महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा बहुमतका साथ अधिकांश ठाउँमा एमालेले जित्छ,’ उनले भनेका छन्, ‘अब मात्रै वैशाख ३० कुर्न गाह्राे हाे ।’








